पर्यटनका प्रडक्टलाई विविधीकरण गर्ने विषयमा राम्रै छलफल चले पनि डार्क टुरिजमलाई ब्रान्डिङ गर्नेबारेमा भने खासै छलफल भएको पाइँदैन । कुनै न कुनै प्रकारले नेपालमा डार्क टुरिजम चलेको त छ तर त्यसलाई ब्रान्डिङ गरेर बजारीकरण भने गरिएको छैन ।
सामूहिक हत्या, मृत्यु भएकाहरूको शालिक, महत्त्वपूर्ण भग्नावशेषहरू भए तिनीहरूको संग्रह, विपत्तिपश्चात् पुनर्निर्माण भएको भए पहिले र अहिलेबीचको तुलनात्मक दृश्यहरूसमेत निर्माण गरेर डार्क टुरिजम प्रवर्द्धन गर्न सकिन्छ ।
‘डार्क टुरिजम’ भनेको मृत्यु, भय, बिछोड, आतङ्कजस्ता घटना भएका ऐतिहासिक स्थलको यात्रा गर्नु हो । ऐतिहासिक स्थलको भ्रमणमात्रै डार्क टुरिजम होइन, त्यससँग डर, त्रास आदि मनोभाव जोडिनु आवश्यक हुन्छ । उदाहरणका लागि द्वितीय विश्वयुद्धमा बम खसालिएको हिरोशिमा र नागासाकी, परमाणु दुर्घटना भएको चेर्नोबिल आणविक भट्टी आदिलाई लिन सकिन्छ । यी ठाउँलाई ऐतिहासिकतासँग जोडेर घुमिन्छ भने त्यो डार्क टुरिजम होइन, तर त्यहाँ भएको मृत्यु, त्यसका आतंक आदि त्रासद पक्षको अनुभूति हुने गरी घुमिन्छ भने चाहिँ डार्क टुरिजम हुन्छ । पशुपति भ्रमणमा जानु र आर्यघाट हेर्नु एक खालको पर्यटन हो भने आर्यघाटमा लाश जलाएको पूरै प्रक्रिया हेर्नु अर्कै हो । दुवै खालका पर्यटक हुन सक्छन् तर दोस्रो चाहिँ डार्क टुरिजम हो । यस्तो टुरिजमको नेपालमा सम्भावना छ तर त्यस ढंगबाट प्रडक्ट नै बनाएर प्रचार गरिएको भने पाइँदैन ।
जर्मनीको यहुदी मार्ने कन्सन्ट्रेशन क्याम्प र जापानका हिरोशिमा तथा नागासाकी मात्र होइन, कम्बोडिया पोलपोट शासनकालका पीडादायी घटना जीवन्त राखिएका संग्र्रहालय ‘डार्क टुरिजम’का विश्व प्रसिद्ध गन्तव्य बनेको पाइन्छ । ऐतिहासिकताभन्दा पनि त्यहाँको त्रासद पक्षको अवलोकन र अनुभूति गर्न मानिसहरू यी ठाउँमा जान्छन् । डार्क टुरिजम शब्द १९९६ मा ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयका प्राध्यापक जोन लेनन र माल्कल फोलीले पहिलोपल्ट प्रचलनमा ल्याएका हुन् । मृत्युसँग सम्बन्धित स्थल वा त्रासद स्थल, अँध्यारा डर लाग्दा ठाउँ डार्क टुरिजमका गन्तव्य हुन् । मानवनिर्मित संरचनाबाट पनि डार्क टुरिजम प्रडक्ट बन्न सक्छ । डर र त्रासको संवेगात्मक पक्षको सन्तुष्टिका लागि यस्तो पर्यटन चलेको पाइन्छ । त्यसैले डार्क टुरिजमले आम नरसंहार र वियोगलाई संकेत गर्छ । युद्धभूमि, नरसंहार, प्राकृतिक विपत्ति, आतंककारी हमला, विभिन्न प्रकारका दुर्घटनामा परी मृत्यु भएका राजनेताहरूको मृत्युस्थल डार्क पर्यटनका गन्तव्य हुन सक्छन् ।
सेप्टेम्बर ११ को आतंककारी हमलासँग जोडिएको न्यूयोर्कको ग्राउन्ड जिरो, रुवान्डामा ८ लाखभन्दा बढी मानिसको हत्या भएका ठाउँमा हस्तीहाडहरू संकलन गरी बनाइएको स्मारक केन्द्र पनि डार्क टुरिजमका महत्त्वपूर्ण गन्तव्यहरू हुन् । प्राकृतिक विपत्ति भएका स्थानहरू पनि डार्क टुरिजमका गन्तव्य मानिन्छन् ।
नेपालको सन्दर्भमा अन्तिम संस्कार गरिने आर्यघाट डार्क टुरिजमको प्रमुख गन्तव्य हुन सक्छ । अहिले पशुपतिनाथ विश्व सम्पदाका कारण पर्यटकीय गन्तव्य बनेको छ । तर, त्यहाँ जाने पर्यटकले आर्यघाटमा लास जलाएको दृश्य र त्यहाँ गरिने संस्कारलाई खुब रुचिपूर्वक हेरेको पाइन्छ । मृत्युबाट हुने पीडा र बिछोडका भाव उत्पन्न गराउन आर्यघाटको दृश्य निकै सहयोगी हुन्छ । त्यसैले आर्यघाट डार्क टुरिजमको गन्तव्य बन्न सक्छ ।
राजदरबारलाई संग्रहालय बनाइएको छ । त्यहाँ राजा वीरेन्द्रका पूरै परिवारको हत्या भएको थियो । राजपरिवारभित्रको यस्तो सामूहिक हत्या भएको स्थल विश्व पर्यटनकै लागि महत्त्वपूर्ण हुन्छ । तर, जहाँ यो घटना भयो त्यो ठाउँ नै पूरै भत्काइएको छ । अब त्यसलाई पुनः जस्तोको तस्तै बनाई त्यस स्थललाई डार्क टुरिजम प्रवर्द्धन गर्न सकिन्छ ।
डार्क पर्यटनको प्रवर्द्धन गर्न गोरखाको भूकम्पको केन्द्र पनि उपयुक्त स्थल हो । भूकम्पबाट ध्वस्त भौतिक संरचनाहरू जस्ताको तस्तै राखेर त्यसले ल्याएको विनाश र भयावहता देखाउन सकेको भए यसले विदेशी पर्यटक पनि आकर्षित गथ्र्यो ।
जगंबहादुरको उदय भण्डारखालको कोटको पटांगिनी पूरै रगत बगाएर भएको थियो । यो त्रासद र भयावह हत्या काण्ड भएको ठाउँ डार्क पर्यटनको राम्रो प्रडक्ट हुन सक्छ । यसरी नरसंहार भएर सत्तामा पुग्नु विश्वकै लागि अनौठो घटना हो । त्यो त्रासद क्षणको अनुभूति दिलाउने गरी पर्यटकीय प्रडक्ट ल्याउन सकिन्छ ।
नेपालका विभिन्न गढीहरू पनि डार्क टुरिजमका लागि उपयुक्त छन् तर तिनीहरू धेरैजसो मासिइसकेका छन् । तिनीहरूको जीर्णोद्धार गरेर त्यसबेलाको युद्ध रणनीति र युद्धको त्रासद पक्षलाई देखाउन सक्ने गरी पुनर्जीवन दिन सकियो भने आन्तरिक मात्र होइन, विदेशी पर्यटक पनि आकर्षित गर्न सकिन्छ । खासगरी सिन्धुलीगढी, मकवानपुरगढी जस्ता प्रमुख गढीहरूलाई त्यसअनुसार पुनर्जीवन दिन सकियो र त्यसबेलाका दृश्य राख्न सकियो भने नयाँ प्रडक्ट बन्छ ।
डार्क टुरिजमका लागि यस्ता स्थानलाई पर्यटकीय हिसाबले थप संरचनाहरूको निर्माण गर्नुपर्ने भएकाले ठूलो लगानी आवश्यक पर्छ । यसका लागि सार्वजनिक–निजी क्षेत्रको संयुक्त लगानी आवश्यक पर्छ । साथै, कतिपय स्थानको त अध्ययन अनुसन्धान गरेर पुरानो स्वरूपको निर्क्योल गर्नुपर्ने पनि हुन्छ । यस्ता क्षेत्रका बारेमा विस्तृत खोज–अनुसन्धान पनि उत्तिकै महत्त्वपूर्ण हुन आउँछ । यी क्षेत्रमा भएको जनधनको क्षति, सम्भव भएसम्म सम्बन्धित तस्वीर, इतिहासको आधारमा तयार गरिने काल्पनिक चित्र तथा भिडियोहरू, अवशेषहरू, युद्ध भएको क्षेत्र भए प्रयोगमा आएका हतियारहरू, सामूहिक हत्या, मृत्यु भएकाहरूको शालिक, तस्वीरहरूको निर्माण, महत्त्वपूर्ण भग्नावशेषहरू भए तिनीहरूको संग्रह, विपत्तिपश्चात् पुनर्निर्माण भएको भए पहिले र अहिलेबीचको तुलनात्मक दृश्यहरूसमेत निर्माण गर्नुपर्ने हुन्छ ।
हिमाल, पहाड, केही धार्मिक सम्पदाका वरपर केन्द्रित पर्यटनलाई विविधीकरण गर्नु आवश्यक छ । पोखरा, काठमाडौं, लुम्बिनी र सौराहामा केन्द्रित पर्यटनलाई विस्तार गरेर नयाँ क्षेत्रमा पुर्याउन आवश्यक छ । यसले पर्यटकको बसाइ लम्ब्याउन मद्दत गर्छ भने त्रास, डर र अवसादको मनोभाव सन्तुष्टिका लागि घुम्न चाहने पर्यटक थप्न पनि सकिन्छ । त्यसैले डार्क पर्यटनबारे अध्ययन र नीति आवश्यक देखिन्छ ।