काठमाडौं । लक्ष्मी बैंकले ‘लक्ष्मी बैंक ओपन गल्फ प्रतियोगिता २०२२’ आयोजना गर्ने भएको छ । बैंकले आउँदो शनिवार काठमाडौंको गोकर्ण गल्फ रिसोर्टमा प्रतियोगिता गर्न लागेको हो । यो प्रतियोगिताको सातौं संस्करण हुने बैंकले जानकारी दिएको छ । सन् २०१४ देखि बैंकले वर्षेनि यो प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिता स्टेबलफोर्ड ढाँचामा खेलाइनेछ । यसमा सयभन्दा धेरै पुरुष र महिला गल्फर सहभागी हुनेछन् ।
प्रतियोगितामा ६० वर्ष वा सोभन्दा बढी उमेरका सिनियर र १७ वर्ष वा सोभन्दा मुनिका जुनियर गल्फरले विविध श्रेणीमा प्रतिस्पर्धा गर्ने बताइएको छ । प्रतियोगितामा मुख्य विजेता, रनर–अप, महिला, वरिष्ठको विजेता, वरिष्ठतर्फ रनर–अप, अतिथि श्रेणीमा विजेता, कनिष्ठ श्रेणीमा विजेता, लङ्गेस्ट ड्राइभ, क्लोजेष्ट टु द पिन र मष्ट बर्डिजका लागि पुरस्कार राखिएको छ । एकैपटक दशौं होलमा बल छिराउनेलाई ह्यन्दे कोना (कार) दिइनेछ । यसबाहेक पाँचौं, आठौं, १३औं र १६औं होलमा एकैपटक बल छिराउनेलाई हिरो लेक्ट्रो एफ६आई विद्युतीय साइकल दिइनेछ ।