काठमाडौं । एनएमबि बैंक र यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेसबीच सम्झौता भएको छ । हरित वित्त, जलवायु वित्त र विदेशी तथा स्वदेशी लगानी सहज बनाउने प्रयोजनका लागि सम्झौता गरिएको बैंकले बताएको छ ।
सम्झौताअनुसार बैंकले दिगो रूपमा लघु, साना र मझौला व्यवसायका लागि वित्तीय पहुँच बढाउनेछ । यस्तो सहकार्यले महिला, युवा र सीमान्तकृत समुदायलाई कृषि, पर्यटन र डिजिटल सेवाहरूसँग सम्बन्धित आर्थिक अवसरमा सहभागी हुन टेवा पुग्ने बैंकको भनाइ छ ।
यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेसले पाँच वर्षमा १८ दशमलव ९ मिलियन अमेरिकी डलर सहयोग गर्ने बैंकले बताएको छ । उक्त सहयोगले नेपाललाई उच्च गुणस्तर र उच्च मूल्यका वस्तु तथा सेवा निर्यातमा विविधता ल्याउन र आर्थिक रूपले पिछडिएकाहरूका लागि दिगो रोजगारी वृद्धि गरी आम्दानीका अवसर बढाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।