ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

झुठनगरमा अन्तहीन चुनावी बहस

२०७९ कात्तिक, १८  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary
author avatar मदन लम्साल

जबदेखि राजनीतिक मञ्च अर्थदायक हुन थाले, तबदेखि सुगाहरू पनि भाषण गायक हुन थाले, खलनायक पनि नायक हुन थाले अनि सांसदहरू विधिविधान बनाउन छाडेर, विधायक बन्न छाडेर आफूलाई विकासे कार्यकर्ता पो भन्न थाले ।  अनि त के ? छकाउने र फकाउने खेल शुरू भएको छ । छप्काउनुभन्दा छकाउन र फकाउनमै फाइदा देखेर हिजोका छप्काउनेहरू पनि यही मेलो गोड्न थालेका छन् । अनि चुनाव आयो कि यस्तै नौटंकी चल्छ देशमा । त्यसैले देशमा झुठो बोल्ने, झुठो कुरा लेख्ने होडबाजी नै चल्न थालेको छ । हुन पनि झुठ नै नेताहरूको सबैभन्दा ठूलो शक्ति जो बनेको छ । झुठ स्वयं हैरान हुन सक्छ नेताजीहरूको झुठ देखेर, तर पराजित भएको छैन है ।

नेपाली युवालाई फ्री भिसा, फ्री टिकटमै विदेश उडाइदिने भनिरहँदा होस् वा कति लाखलाई स्वदेशमै रोजगारी दिने वा देशलाई आत्मनिर्भर बनाउने भन्दा होस्, नेताका अनुहारको हाउभाउमा नै झुठको खेती सल्बलाइरहेको स्पष्ट देखिन्छ ।

हाम्रो देशमा त समस्त नेतागण नै महान् झुठवादी छन् । यो कुरा अरूले भनेको हैन, स्वयं नेताहरूले एक अर्कालाई भनिरहेका छन् । सर्पले सर्पको खुट्टा देख्छ भन्छन् नि । ठूला नेताले भनेपछि पत्याउनै पर्‍यो । त्यसैले त ठूला दल, ठूला नेताका झुठका खेतीका उदाहरण घरघरमा सबैलाई कण्ठै छ । उनीहरूको राजनीतिक फसल नै झुठको खेतीमा टिकेको छ । यसैले त झुठो घोषणापत्रलाई सत्यको लेप लगाउने होडबाजी नै पो चल्न थालेको छ । किनकि हरेक नेता झुठमै जो बिकेको छ । यदि झुठ छैन भने नेता नै छैन, नैता नै हैन । त्यसैले झुठ र नेताको सम्बन्ध नङ र मासुको जस्तो बनेको छ ।

जगत् मिथ्या भनेपछि जन्म र मृत्युका बीचको सबै कुरा झुठा नै हुन् । दिन र रातका उज्याला पनि सबै झुठ नै हुन् । धर्ती र आकाशबीचको ठाउँ, सबै प्रकारका शून्य पनि झुठा नै हुन् । शास्त्रको मर्म नै यही हो । त्यसैले चुनावमा टिकट हासिल गर्नेदेखि लिएर चुनाव लड्नु पहिले र चुनाव लडिसकेपछिसम्म समस्त राजनीति पनि झुठमै टिकेका हुन् । त्यस्तो झुठ काममा सत्य कसरी बोल्नु ? शास्त्रको मर्मविरुद्ध कहाँ जानु ? त्यसैले नेताका वाचामा, विचारमा, सपनामा, सोचमा, खेत वा खोलामा यताउता सबैतिर झुठ नै त विस्तारित छ । अणु परमाणुबाट विश्व ब्रह्माण्ड फैलिएझैं सानु सानु झुठबाट महाझुठ बन्छ । आत्माबाट परमात्मा भनेझै महाझुठ भए पछि बल्ल राजनीति हुन्छ र राजनेता जन्मन्छ । हालका राजनेता देखेर पनि तपाईंलाई त्यस्तो लाग्दैन ?

जब नेताजी ईशारा गरेर झुठो बोल्छन्, तब उनका चञ्चल आँखा पनि सक्रिय हुन थाल्छन् । अझ नेपाली युवालाई फ्री भिसा, फ्री टिकटमै विदेश उडाइदिने भनिरहँदा होस् वा कति लाखलाई स्वदेशमै रोजगारी दिने वा देशलाई आत्मनिर्भर बनाउने भन्दा होस्, नेताका अनुहारको हाउभाउमा नै झुठको खेती सल्बलाइरहेको स्पष्ट देखिन्छ । झुठो बोल्दा नेताजीका अनुहार र आँखाले नै उनका झुठलाई नयाँ राजनीतिक फ्लेबर ओढाउन प्रेरित गरिरहको हुन्छ । त्यसैले त नेताहरू नयाँ नयाँ झुठो बोलेर पुराना झुठहरूलाई समेत सत्यको ऐनामा प्रस्तुत गरिरहन्छन् । भनिन्छ कि मुखबाट बोलिएको झुठो गतिशील हुँदा नेताजीका हातका औंलाहरू पनि अधिक क्रियाशील हुन पुग्छन् । औंलाहरू नाना प्रकारका ईशारा गरेर झुठोलाई सत्यमा बदल्ने क्रियाकलाप गर्न थाल्छन् । नेताको झुठमा एउटा मोहनी हुन्छ, त्यो मोहनीबाट नफुस्केसम्म सत्य र झुठको फरकै थाहा हुन्न ।

साँचो बोल्ने लाटो हुन्छ, झुठो बोल्ने बाठो । किनभने झुठो बोल्ने बेला दिमागले खुब तेज काम गर्न थाल्छ । जो बढी नै तेज दिमागका हुन्छन्, उनीहरू नै तेज र स्पष्ट झुठो बोल्न सक्षम हुन्छन् । त्यसैले त टीभी बहसमा यै दिमागको पछाडिको कुतर्क, अनाचार, मूर्खतापूर्ण क्रियाकलापले भरिएको हुन्छ । त्यसकारण नेताहरू भाषणैपिच्छे रिसाउँछन्, झर्कन्छन्, एकअर्कोमा गालीका गाली बर्साउँछन् र दाँत देखाएर होस् वा जुत्ता देखाएर आफ्नो चैं झुठलाई विश्वास गर्न र सत्य सावित गर्न मरिमेट्छन् । मिडियामा आउने अन्तहीन बहसहरूमा झुठहरूको समन्वय गरेर बोल्न सक्ने जन्तुले नै आफ्नो सात पुस्तासम्मका लागि राम्रो रोजगारीको व्यवस्था गरिहाल्छ ।

यदि ध्यान दिएर हेर्नुभयो देख्नुहुन्छ, श्वास लिने र छाड्ने क्रममा नेताजीका नाकको कुनै एउटा द्वार अधिक सक्रिय भइरहेको छ भने त्यसै समय शास्त्रीय ढंगबाट झुठ पस्किने काम पनि भइरहेको हुन्छ । तर यतिबेला नेताका नाकको इज्जत भने भुइँमा मिलिसकेकोे हुन्छ । जब कुनै बेला नेताजीका दायाँ नाकबाट श्वासको आवागमन भइरहेको हुन्छ, तब वाममार्गी झुठ पस्किन्छन् । तर बायाँ नाकबाट श्वास आउने जाने गरिरहेको बेला नेताजीको ज्ञानले उल्टी गर्न थाल्छ र नेता स्वयं झुठोमा परिणत भइसकेका हुन्छन् । तर पनि उनीहरू रत्तिभर लाज शरम मान्दैनन् । एउटा लाज छाडिदिने हो संसार जितिन्छ रे । त्यही भएर शायद नेताजीले लाज दराजमा लुकाएर हिँड्छन् ।

झुठ एउटा बगिरहने खोला जस्तो हो, जसबाट प्रत्येक व्यक्तिले आफ्नो हिस्साको झुठको पानी पिउँछ नै । झुठको न आदि छ न त अन्त । झुठ न देखिन्छ न सुनिन्छ । छैन भनूँ भने सबैतिर छ, छ भनूँ भने ठ्याक्कै चाहिँ देखिन्न । हाम्रा नेता जस्तै छैन त झुठको चरित्र ? त्यसैले झुठ आदि–अनन्त भन्दा पनि पर वा माथिको कुरा पो हो त ! त्यसैले उनको घोषणापत्रमा असम्भव केही पनि छैन ।

त्यसैले त तीन दशकदेखि नेताजीका भाषण उही छन्, शासन उस्तै छन् र अझ अनुशासन पनि उही छन् । बस पात्रो र पात्र मात्र फेरिँदै गएका छन् । भाषणमा विकासको खोला धेरै नै बगाइने गरेको छ । तर तपाईं हाम्रा घर आँगनमा आइपुग्नुअघि नै त्यो बाटोमा कहाँ कहाँ सुक्छ, कहाँ कहाँ पुग्छ, यसको हिसाब अहिलेसम्म कुनै नेताले दिएका छैनन् । तर सत्य कोही बोल्दैनन् । जब धन बोल्छ अनि सत्य चुप लाग्छ । जब सत्य चुप लाग्छ, धनको बाटो खुल्छ । त्यही भएर अहिले यो झुठनगरमा अन्तहीन चुनावी बहसको मौसम चलिरहेको छ । चुनावी घोषणापत्रमा भएका झुठै झुठको पुलिन्दालाई कतै तपाईंले सत्य ठानिरहनुभएको त छैन ? छ भने सत्य र झुटको भेद छुट्याउन अब ढिला भएन र भन्या !

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)