ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लप्चिखोला आयोजनाको पहुँचमार्गका लागि ८३२ मिटर सुरुङ निर्माण

२०७९ कात्तिक, २१  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । दोलखामा बन्ने लप्चिखोला जलविद्युत् आयोजनाको पहुँचमार्गका लागि ८३२ मिटर सुरुङ निर्माण गरिएको छ । आयोजनाको प्रवद्र्धक कम्पनी नासा हाइड्रोपावरले करीब एक वर्ष अवधिमा सो लम्बाइको सुरुङ निर्माण गरेको हो ।

जलविद्युत् आयोजनाको निर्माण स्थलसम्म पुग्न १ हजार ७४ मिटर सुरुङ निर्माण गर्नुपर्नेछ, जसमध्ये ८३२ दशमलव १८ मिटर भएको प्रवद्र्धक कम्पनीका इञ्जिनीयर केबी बोहोराले जानकारी दिए । लप्चिखोलामा निर्माण गरिने १६० मेगावाट क्षमताको उक्त आयोजनासम्म पुग्न कठिन भीरमा बाटो बनाउनुपर्ने र त्यसका लागि ब्लास्टिङ गर्दा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ड्याममा क्षति पुग्न सक्ने भएकाले विकल्पको रूपमा सुरुङमार्ग निर्माण गरिएको आयोजनाले बताएको छ ।  

पहुँचमार्ग निर्माणका लागि बनाइएको सुरुङको चौडाइ ६ मिटर तथा उचाइ पाँच दशमलव पाँच मिटर छ । सुरुङको ब्रेक थ्रुपछि आयोजना स्थलसम्म पुग्न थप १८ किलोमिटर बाटो निर्माण गर्नुपर्नेछ । सुरुङ निर्माण सम्पन्न हुनुअघि नै आयोजनाको मुख्य विद्युत्गृह रहने स्थलबाट  हेडवक्र्ससम्म पुग्न बाटो निर्माण गर्न लागिएको छ । त्यसका लागि तीनओटा एक्स्काभेटर तथा अन्य उपकरण हेलिकोप्टरमार्फत लगिएको इञ्जिनीयर बोहोराले बताए । आयोजनाको हेडवक्र्ससम्म पुग्न करीब ६ किलोमिटर ट्र्याक खोलिएको जानकारी उनले दिए ।

जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएपछि उत्पादित विद्युत् करीब ४० किलोमिटर लामो प्रसारणलाइनमार्फत गर्जाङ पुर्‍याइनेछ । त्यहाँबाट न्यू खिम्ती सबस्टेशन हुँदै केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । नदी प्रवाही प्रणालीमा आधारित सो जलविद्युत् आयोजनाको निर्माण दुगड समूहले गरिरहेको छ ।

जिल्लाको लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाभन्दा माथि लप्चिखोला र जुमखोला आसपासमा निजीक्षेत्रको लगानीमा तीन सय मेगावाटभन्दा बढीका करीब आधा दर्जन जलविद्युत् आयोजना पहुँच मार्ग अभावले अघि बढ्न सकेका छैनन् । भिठामोडबाट लामाबगर हुँदै चीनको सीमासम्म बाटो निर्माण गरिने चर्चा धेरै अघिदेखि चले पनि काम अघि बढेको छैन । लप्चिखोला जलविद्युत् आयोजनाको पहुँच मार्गको रूपमा निर्माणाधीन सुरुङ मार्ग सम्पन्न भएपछि आवतजावत सहज हुने अपेक्षा स्थानीयवासीको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)