चुनावको तयारी चलिराछ । ब्यानर, बैंक नोट, बियर, ब्रेकफास्ट, डिनर सबै फलिराछ । कतै कतै ढुंगामुढा, टायर पनि बलिराछ । भोटर तान्न अनेक तिकडम जारी छन् । पुराना नेताहरूलाई मालाको भारी र दर्जनौं दर्जन गाडी सवारी छन् । तैपनि पुरानालाई हराउने नयाँको तयारी छ । हुन पनि कतिपय ठाउँमा स्वतन्त्र पनि भारी छन् । कसैलाई गठबन्धनकै भर छ । कसैलाई बागीको डर छ त कसैलाई दागीको ।
हिजो जजसले आपसमा मारामार गरे, आज तिनै चाटाचाट । हिजो जो घाँटी जोडिएको छ भन्थे, आज तिनै काटाकाट । कस्तो हाहाकार । तर जनता गर्छन् यसैमा जयजयकार । हिजो वर्ग शत्रु आज महामित्रु । अनि जनता चाहिँ सधैं पत्रु ?
चुनाउको फलाम तताउन नेताहरूले आआफ्नो धुनी जगाइरहेका छन्, खलाँती फुकिरहेका छन् । जनता त्यही खलाँतीमा झुक्किरहेका छन् । मासुभात खान पाउनेहरू त्यसै त्यसै भुकिरहेका छन् । चन्दा दिन पर्नेहरू चाहिँ लुकिरहेका छन् । च्याँखे थाप्नेहरू आफ्नो दाउ ढुकिरहेका छन् । हिजो जनतालाई लात हान्नेहरू अहिले बातले फकाउँदै छन् । कस्को भट्टी कस्को फलाम । बोल पट्टु बोल, राजनीतिको पर्दा खोल । सामाजिक सञ्जालमा विज्ञापन गरेर लाखौं डलर झ्वाम । जित्ने केही, बाँकी हेरेको हेर्यै ट्वाँ ।
हिजो जजसले आपसमा मारामार गरे, आज तिनै चाटाचाट । हिजो जो घाँटी जोडिएको छ भन्थे, आज तिनै काटाकाट । कस्तो हाहाकार । तर जनता गर्छन् यसैमा जयजयकार । हिजो वर्ग शत्रु आज महामित्रु । अनि जनता चाहिँ सधैं पत्रु ?
न विचार, न कार्यदिशा । भोटरलाई बनाऔं सधैं मुर्गा । हलो र घाम एक । हँसिया, हथौडा र रूख पनि एक । न विचार एक, न गन्तव्य एक । तर भित्री उद्देश्य सबैको एक । यसो गर, उसो गर माल कमाऊ, भलै होस् धन्दा अनेक । अर्जुनदृष्टि केवल सत्तामा वा भत्तामा । न समाजप्रति कुनै जिम्मेवारी, न सिद्धान्तमा इमानदारी, न व्यवहारमा समझदारी, न त देशप्रति कुनै दायित्वको भारी । केवल ‘म खाऊँ, मै लाऊँ, सुखसयल मोज म गरूँ’ भन्ने मात्र प्रयास जारी ।
पहिलेका पोष्टरका ठाउँ सामाजिक सञ्जालले लिएका छन् । कत्तिले चुनावै नभई उम्मेदवारलाई पहिल्यै बधाई दिएका छन् । मनाङ्गे जी सबै दलका साझा उम्मेदवार । अरूले टिकट पाउन हुनुपर्ने कि नेताका नजिक वा नातेदार । टिकट पाउने पनि ब्रिफकेस बोकेर ठूला नेताकोमा जान ठूलै गाडीमा छन् सवार । न अतीतको मूल्यांकन, न अनुभवको कुनै सम्मान । न वर्तमानको चिन्ता न भविष्यको चिन्तन ।
जसलाई ठूला शिक्षक, समाजसेवी वा पत्रकार ठानेका थियौं, उनीहरू त राजनीतिका झोले पो भएर निस्के । जसलाई भद्र भलादमी नेता ठानेका थियौं, उही खूंखार भ्रष्टाचारी भएर निस्कियो । राजनीतिको रोइलो यस्तो पनि छ कि परिवारमा बाउ एउटा पार्टीको, छोरा अर्कैको । घरमा श्रीमान् श्रीमतीबीच समेत राजनीतिक आस्थाकै कारण बोलचाल बन्द छ । छरछिमेक वैरी भएका छन् । तर जनताको दुःखको पहिरो हटाउने फुर्सद कसैलाई छैन । सबैलाई कुरा भन्नु छ, कुरै पकाउनु छ । जे भनेर नि मतदाता फकाउनु छ । गर्न कसैलाई केही छैन । सबैको आफ्नै आफ्नै कुकर, आफ्नै आफ्नै सिटी । कोही भन्छन् राजा चाहियो, कोही प्रदेश फाल । एकै दलका नेता दशतिर फर्केका, सबैका आआफ्नै ताल । कोही सूचना लुकाउने, कोही भन्छन् पोल खोल । कस्को मात्रै सुन्ने हजुर सबै भद्रगोल ।
के गर्ने ? पापीहरूको पापी पेट कहिल्यै नभरिने रहेछ । यिनीहरूको पेटको विस्तार कतिसम्म, कहाँसम्म फैलिएको छ, कसैलाई थाहा छैन । स्वीस बैंकदेखि बेलायत, जर्मनी, अमेरिकासम्म । यसले गर्दा उद्यम गर्ने हातहरूलाई फैलन रोकेको छ । गर्छु भनी–टोपल्नेहरूले न त समाजवादी सडक समाए, न पूँजीवादी बाटो बनाए । बरु देशको भए जति स्रोत आफू र आफ्नैमा खन्याए । न किसानलाई मल दिए, न बाँझो जमीनलाई जल दिए । न त उद्योगलाई बल दिए वा कुनै समस्यामा हल दिए । न कानूनको डर दिए, न स्वास्थ्यमा भर दिए । न त रोजगारी नयाँ ल्याए, न समयमै कुनै काम भ्याए । उहिले ग्रीसमा माइडास थिए रे, जसले जे छोए पनि सुन हुन्थ्योे रे । तर नेपालमा त घुन नै घुन जन्मेका छन् । यिनले जहाँ छोए, त्यहीँ बित्यास पर्ने, जहाँ गए, त्यहीँ अत्यास पार्ने । यिनले न शहर सपारे, न गाउँ सुधारे । बरु जहाँ छोयो, त्यहीँ बिगारे ।
नेताहरू ५ वर्षपछि गाउँ–खेत–आली डुल । तर हेर्न नबिर्स देशैभरि भत्केका बाटो र पुल । बुढा नेताहरू नयाँ प्रतिस्पर्धी देखेर छुलछुल । नहुन् पनि किन ? बुढा नेताहरूको कुरो नै सधैं ढूलमूल । जनता पनि सधैं गर्ने महाभूल । राजनीतिको बाजीमा जित्नेले नै गर्ने हो रूल ।
अहिले चुनावको महामारी छ । झुक्याउने र झुक्किने खेल फेरि पनि जारी छ । उनीहरूको एजेण्डा केवल एक, जुन नाराले भोटर आकर्षित गर्छ हरेक । तर समय चिनौं, आफ्नो शक्ति बुझौं । सही ठाउँमा भोट नै हो मूल । ल है, यसपाला चाहिँ नगरौं है महाभूल !