काठमाडौं । लक्ष्मी बैंकले ‘फिफा विश्वकप २०२२’ लक्षित बचत योजना सार्वजनिक गरेको छ । बैंकले विश्वकप लक्षित ‘बचत गरौं, च्याम्पियन बनौं’ योजना सार्वजनिक गरेको हो । विश्वकै सबैभन्दा ठूलो खेलमेला फिफा विश्वकप मङ्सिर पहिलो सातादेखि कतारमा हुँदै छ ।
‘गोलरक्षकद्वारा फुटबल खेल जित्न गरिने बचाउ र लगनशीलतापूर्वक व्यक्तिगत तवरमा आफ्नै आर्थिक उपार्जनका लागि गरिने बचतबीच समानता देखाउने उद्देश्यले ‘बचत गरौं, च्याम्पियन बनौं’ योजना सञ्चालन गर्न लागेका हौं,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यो अभियानले वर्तमान तथा भविष्यका दुवै पुस्ताको भविष्य उज्ज्वल बनाउन बचतको शक्ति र भावनालाई प्रोत्साहन गर्ने बैंकले बताएको छ । उक्त योजना नोभेम्बर २० देखि डिसेम्बर ३१ सम्म लागू हुनेछ ।
सो अवधिमा बचत गर्ने निश्चित बचतकर्तालाई पूर्वस्वीकृत क्रेडिट कार्ड, आजीवन निःशुल्क ग्रीन बैंकिङ प्याकेज (बैंकको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ, डिम्याट खाता, मेरो शेयर, भाइबर बैंकिङ, ईमेल समाधान), खुत्रुके लगायत आकर्षक सेवा तथा उपहार प्रदान गरिने बैंकले बताएको छ ।