काठमाडौं । गत मंगलबार काठमाडौंको त्रिपुरेश्वरस्थित ‘स्काई ब्य्रान्डस नेपाल’ पसलमा ग्राहकको भिड थियो । कोही जर्सी छान्दै थिए त कोही देशको झण्डा ।
फुटबलको महाकुम्भ मानिने विश्वकप फुटबल नजिकिएसँगै नेपाली फुटबलप्रेमीहरू आफूले समर्थन गरेको देशको जर्सी र झण्डा किन्न थालेका छन् । उनीहरूमा जर्सी र झण्डाकाे क्रेज देखिएकाे छ ।
२२ औं संस्करणको फिफा विश्वकप २०२२ यही मंसिर ४ गतेबाट कतारमा शुरु हुँदैछ । उक्त विश्वकपमा ३२ देशले प्रतिस्पर्धा गर्दैछन् ।
स्काई ब्रान्ड्स नेपालका सञ्चालक प्रवीण श्रेष्ठ विश्वकप नजिकिएसँगै विभिन्न देशका जर्सी र झण्डा किन्ने ग्राहक बढेको बताउँछन् । चीनबाट आयात जर्सी र झण्डा ग्राहकले रुचाएको उनको भनाइ छ । ‘जर्सी नेपालमा पनि उत्पादन हुन्छन् । तर, चीनबाट आयात गरिएकामा ग्राहकको झुकाव देखिन्छ,’ ६/७ वर्षदेखि पसल चलाउँदै आएका उनले भने ।
उनको पसलमा विभिन्न मूल्यका झण्डा र जर्सी पाइने गरेका छन् । आफूकहाँ ७० देखि ७०० रूपैयाँसम्मका झण्डा र ९०० देखि २९ सय रूपैयाँसम्मका जर्सी पाइने गरेको उनले बताए ।
विश्वकप फुटबल भइरहँदा नेपाली फुटबलप्रेमीहरू आफूले समर्थन गरेको देशका जर्सी लगाउने गरेका छन् । देशको झण्डा भने डेकाेरेशनमा प्रयाेग गर्ने फुटबलप्रेमीहरू बताउँछन् ।
हेर्नुस् तस्वीरहरू
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान