काठमाडौं । निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९० जना म्यादी प्रहरी कारबाहीमा परेका छन् ।
प्रहरी नायब महानिरीक्षक एवं प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार यही कात्तिक २९ गतेसम्म ८९ जना पुरुष र एक जना महिला म्यादी प्रहरी कारबाहीमा परेका हुन् ।
'आचार संहिता विपरित काम गर्ने म्यादी प्रहरीलाई कारबाही गरिएको हो', उहाँले भन्नुभयो, 'कारबाहीमा पर्नेमा अधिकांश मादक पदार्थ सेवन गरी कार्यस्थलमा खटिने छन् । उहाँहरुलाई पटक–पटक चेतावनी दिँदासमेत अटेर गरेपछि कारबाही गरिएको हो ।'
प्रवक्ता राईका अनुसार अनुसार कारबाहीमा पर्नेमा प्रदेश नं १ मा ४८ जना , काठमाडौँ उपत्यकामा १ र बागमती प्रदेशमा ५ जना रहेका छन् ।
त्यसैगरी गण्डकी प्रदेशमा २४ , लुम्बिनी प्रदेशमा ४ , कर्णाली प्रदेशमा ए१ र सुदूरपश्चिममा ७ जना रहेका छन् ।
काठमाडौँ उपत्यका सहित सात प्रदेशमा १ लाख १५ हजार म्यादी प्रहरीको कोटा रहेकामा हाल १ लाख १४ हजार आठ सय ७७ उपस्थित भएका छन् । यसमा पुरुष ८४ हजार २४८ र महिला ३० हजार ६२९ जना रहेका छन् । रासस