काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा काठमाडौं उपत्यकाका नाकाहरुबाट घर फर्किने मानिसहरूको चहलपहल बढेको छ । भोट हाल्न दुई दिन मात्रै बाँकी रहेसँगै कोटेश्वर, कलंकी, बालाजु लगायतका क्षेत्रमा घर फर्किने यात्रुहरूको चहलपहल अघिल्ला दिनहरूको तुलनामा निकै बढेको छ ।
मङ्सिर ४ गते हुने चुनावका लागि ३ गते मध्यरातिदेखि गाडी चलाउन नपाइने भएकाले शुक्रवार र शनिवार काठमाडौं उपत्यकाबाट बाहिरिनेहरूको संख्या अझ बढ्ने देखिएको छ । भोट हाल्न कोटेश्वर क्षेत्रबाट गाउँ फर्किन तयारी गरेका अधिकांश मतदाताहरुले यसअघि नेताहरुले प्रतिवद्धता जनाए अनुसारका विकासका कामहरू गर्नुभन्दा पनि आफ्ना लागि मात्रै काम गरेको दुखेसो पोखेका छन् ।
उनीहरूले यस पटक विकासका काममा लाग्न आग्रह गरेका छन् । आफ्नो क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिजुली बत्ती लगायतका विकासका कामहरू अघि बढाउनेलाई भोट दिने उनीहरूको भनाइ छ ।
कतिपय राजनीतिक दलहरूले भोट हाल्नका लागि आफ्ना समर्थकहरूलाई गाउँ लैजान निःशुल्क गाडीको व्यवस्था पनि गरेका छन् । कोही भने आफ्नै खर्चले मतदानको आफ्नो अधिकार प्रयोगका लागि गाउँ फर्किएको बताउँछन् ।
तस्वीरहरू : सुनिल शर्मा / आर्थिक अभियान