अन्तरिक्षको एउटा रहस्यले जापानका भिक्षु तथा वैज्ञानिकहरूलाई एकै स्थानमा उभ्याइदिएको छ । उनीहरू अन्तरिक्षको भ्रमण गरेर फर्किएका चेरीको बीउबाट उमारिएका बिरुवाहरूले आश्चर्यजनक नतीजा देखाएपछि छक्क परेका छन् । अन्तरिक्षमा रहेर पृथ्वीलाई ८ महीना परिक्रमा गरेपछि फर्काइएका बीउबाट उमारिएका चेरीका रूखहरू सामान्यभन्दा धेरै छिटो बढेर फूलसमेत फुलेपछि यसलाई रहस्यमय घटनाका रूपमा लिइएको छ । अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)मा ८ महीना बसेर फर्किएको बीउबाट उम्रिएको ४ वर्षको कलिलो बिरुवाबाट अप्रिल १ मा फूल फुलेको थियो । मध्य जापानको शिजोकामा अवस्थित प्राचिन मन्दिर परिसरमा रोपिएका चेरीका बिरुवाहरू सामान्य प्राकृतिक नियमभन्दा सारै छिटो बढेर फूल फुल्ने उमेरभन्दा लगभग ६ वर्षअगावै फूल फुल्न लागेका छन् ।
‘यो यति छिटो बढेको देखेर हामी छक्क परेका छौं’, टोकियोको जिफुस्थित गाञ्जोजी मन्दिरका मुख्य पुजारी मासाहिरो कजिताले एएफपीसँग टेलिफोन कुराकानीमा बताए । ‘यसअघि मूल रूखको कुनै पनि बीउ उम्रिएको थिएन, यो बुढो रूखको उत्तराधिकारी हुने भएकाले हामी धेरै खुशी छौं,’ उनले भने । सो बुढो रूखलाई १ हजार २ सय ५० वर्ष पुरानो मानिन्छ । अन्तरिक्षको यात्रा गरेर फर्किएका चेरी स्टोन (फल)हरूमध्येबाट छानेर रोपिएका २ सय ६५ बिरुवामध्येकै यो विष्मयकारी बीउ हो । जापानका फरक–फरक १४ स्थानबाट सङ्कलित चेरी स्टोनहरूलाई सन् २००८ को नेभेम्बरमा अन्तरिक्षमा पठाइएको थियो । पृथ्वीलाई ४ हजार १ सयपटक परिक्रमा गरिसकेपछि अर्काे वर्षको जुलाईमा अन्तरिक्ष यात्री कोइची वाकातासँगै चेरी स्टोनहरूलाई फर्काइयो । यसमध्ये केही बीउलाई प्रयोगशालामा परीक्षणका लागि पठाइयो भने धेरैजसो चेरी स्टोनलाई उनीहरूको मूलस्थानमा नै फिर्ता पठाइयो । छानिएका केहीलाई भने गाञ्जोजी मन्दिरनजिकैको नर्सरीमा रोपियो ।
यो वर्षको अप्रिलसम्ममा ‘अन्तरिक्षको चेरीको रूख’ ४ मिटर (१३ फिट)सम्म अग्ला भए र एकाएक नौओटा फूल फुले । यी प्रत्येक फूलमा पाँचओटा पत्रदलमात्र रहेका छन् । मूलरूखको फूलमा भने झण्डै ३० पत्रदल रहेका छन् । यी खालका चेरीका रूखहरूमा सामान्यतया करीब १० वर्षमा पहिलोपटक कोपिला लाग्ने गर्छ । कलिलो उमेरमै फूल फुल्नेमा गाञ्जोजी मन्दिरको अन्तरिक्षीय चेरीका कलिला बिरुवाहरूमात्रै भने होइनन् । चेरी रोपिएको चौध स्थानमध्ये चार स्थानका बिरुवामा कोपिला लागेको छ । २ वर्षअघि टोकियोभन्दा १ सय १५ किलोमिटर टाढाको पर्वतीय क्षेत्र ‘होकुतो’को एउटा कलिलो बिरुवामा ११ ओटा फूल लागेको थियो । रोपिएको करीब २ वर्षमै यसमा फूल फुलेको थियो । यो वर्गको चेरी ८ वर्षमा मात्रै फुल्छ । ‘बालबालिकालाई चेरी स्टोनहरू सङ्कलन गर्न र अन्तरिक्षबाट फर्किएपछि कसरी हुर्कन्छन् र बाँच्छन् भनेर सिकाउने एउटा शैक्षिक तथा सांस्कृतिक परियोजना’कै एक हिस्साका रूपमा यी बीउहरूलाई अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाइएको यस कार्यक्रमका प्रवक्ता माहो तोमिओकाले बताएका छन् । रासस/एएफपी