काठमाडौं । विभिन्न अन्तरराष्ट्रिय ब्राण्डका डेबिट, क्रेडिट तथा प्रिपेड कार्डहरू स्वीकार गर्दै आएको हिमालयन बैंकले अब डिस्कभर्स, डाइनर्स क्लब अन्तरराष्ट्रिय तथा डिस्कभर्स फाइनान्सियल सर्भिसेजका कार्ड पनि स्वीकार गर्ने भएको छ ।
बैंक र डिस्कभर्स अन्तरराष्ट्रिय नेटवर्कबीच भएको सम्झौतामा उक्त कार्डहरू स्वीकार गर्ने व्यवस्था गरिएको छ । सम्झौता अनुसार कार्डवाहकहरूलाई उनीहरूको सुविधाका लागि नेपालका विभिन्न मर्चेन्टहरूमा भुक्तानी गर्ने विकल्पहरू उपलब्ध हुने बैंकको भनाइ छ ।
डिस्कभर्सका कार्ड स्वीकार गर्ने नेपालका विभिन्न मर्चेन्टले उक्त नेटवर्कका विश्वभरका २८ करोड ग्राहकले वार्षिक रूपमा गर्ने ५ सय अर्ब डलर बराबरको खर्चमा आफ्नो पहुँच प्राप्त गर्ने बैंकले बताएको छ । काठमाडौं, पोखरा, चितवन, लुम्बिनी लगायत पर्यटकीय क्षेत्रहरूका विभिन्न होटल, रेष्टुराँ, खुद्रा व्यापार तथा अन्य मर्चेन्टमा रहेका आफ्ना पोस मेशिनहरूमा उक्त नेटवर्कका कार्ड स्वीकार गरिने बताइएको छ । डाइनर्स क्लब अन्तरराष्ट्रिय तथा डिस्कभर्सको लोगो भएका मर्चेन्टहरूले डिस्कभर्स अन्तराष्ट्रिय नेटवर्कद्वारा जारी भएका कार्डहरू स्वीकार गर्ने बताइएको छ । नेपाल प्रमुख भ्रमण गन्तव्य रहेकाले पर्यटकलाई आफ्नो छनोटको कार्ड प्रयोग गर्ने अवसर प्रदान गर्दै मर्चेन्टहरूलाई उक्त कार्ड स्वीकार गर्ने अवसर दिइएको बैंकको भनाइ छ ।