काठमाडौं । शनिवार बिहान काठमाडौंको दरबारमार्गदेखि बसन्तपुरसम्म केही समय सडक सुन्तला रंगमय भएको थियो । संयुक्त राष्ट्र संघको 'लैङ्गिक हिंसा विरूद्धको १६ दिने सक्रियता' अभियानका क्रममा आयोजित वाकाथनमा सहभागीहरुले लगाएका पहिरनका कारण सडकहरू सुन्तलमा रंगमा ढलेका थिए ।
उक्त वाकाथनलाई जोन्टा क्लब अफ काठमाडौंले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि सक्रियता प्रवद्र्धन गर्न आयोजना गरिएको थियो ।
संयुक्त राष्ट्र संघको लैङ्गिक हिंसा विरूद्धको १६ दिने सक्रियता २५ नोभेम्बर देखि १० डिसेम्बर २०२२ सम्म मनाइने छ । यस वर्ष संयुक्त राष्ट्र संघले १६ दिने 'एकता, महिला र केटीहरू विरुद्ध हिंसा अन्त्य' अभियान गर्ने छ ।
कुमारी बैंक, जेजीआई फाउण्डेसन, लक्ष्मी बैंक, केटीएम सिटी, लिबर्ड, वेल्ट हङ्गर हचलाइफ, जर्मन कोअपरेसन र एकवा हन्ड्रेडको सहयोगमा आयोजना गरिएको उक्त वाकाथनमा विभिन्न पेशामा आवद्ध विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो । सयौंको संख्यामा दरबारमार्गबाट शुरु भएको वाकाथन बसन्तपुर डबलीमा कथाघेराका कलाकारहरूको लैङ्गिक हिंसा विरूद्धको सशक्त सन्देश सहितको नाटक मञ्चन पछि समापन भएको थियो ।
तस्विहरु : सुनिल शर्मा / आर्थिक अभियान