हरेक रोजगारदाताले भावी कर्मचारी खोज्दा सकेसम्म आफूसँग लामो समय टिक्ने खालको व्यक्ति खोज्छन् । लामो समय एउटै कम्पनीमा अडिएर बस्ने व्यक्ति पाउन मुश्किल छ । कयौं त केही महीना वा वर्ष दिन नपुग्दै जागीर फेर्छन्, फेरिरहन्छन् अनि कोही भने वर्षौं वा दशकौंसम्म पनि एउटैमा टिकिरहन्छन् । भावी रोजगारदाताले आफ्नोबारे के सोच्लान् ? एउटै ठाउँमा टिकेर नबस्ने मान्छे देख्ने हो कि भनेर उनीहरु कम्पनी वा काम गर्ने वातावरण राम्रो नहुँदा समेत कम्तीमा १ वर्ष जागीर फेर्न डराउँछन् । केही चाहिँ आजीवन एउटै कम्पनीमा काम गर्छन् अनि सेवानिवृत्त हुन्छन् । विशेषगरी जापानमा पहिला पहिला एक व्यक्तिले एउटै कम्पनीमा आजीवन काम गर्थे । यति मात्रै होइन, पिताले काम गरेकै कम्पनीमा उसको सन्तानले काम गर्ने प्रवृत्ति पनि थियो ।
कम्पनीमा आफ्नो महत्त्व, इमानदारी र प्रतिबद्धताका कारण पनि लामो समय एउटै कम्पनीका काम गरिन्छ । यो भावी कर्मचारीमा कम्पनीले खोज्ने गुणहरू पनि हो । धेरै लामो समय एउटै कम्पनीमा बस्नुको सकारात्मक र नकारात्मक दुवै पक्ष छन् । पहिलो कुरा यो विज्ञताको संकेत हो । लामो समय काम गर्नेहरूलाई आफूले के गर्नुपर्छ भन्ने थाहा हुन्छ । अनि कम्पनीप्रति बफादार पनि हुन्छ । आफ्नो कामबाट कस्तो भूमिको खोजेको हो भन्ने पनि कामदारले खुट्याउन सक्छन् । नेपालमै पनि एउटै कम्पनीमा वर्षौंवर्ष काम गरेका कयौं व्यक्ति भेट्न सक्छौं ।
नकारात्मक पक्ष चाँहि लामो समय एउटै कम्पनीमा काम गर्नुले त्यो व्यक्तिको पेशागत प्रगति सकिएको हो कि भन्नेतर्फ औंल्याउँछ । ती कामदारको नेटवर्क निकै सानो भएर पनि त्यस्तो भएको हुन सक्छ । एउटै उद्योग/व्यवसायमा लामो समय रहँदा व्यक्ति एक आयामिक बन्ने खतरा हुन्छ । त्यस्ता व्यक्तिको सिकाइ र विकासशैली विविधीकृत छ त भन्नेबारे शंका गर्ने गरिन्छ । उनीहरू जोखिम लिने इच्छा लिन्छन् कि सकेसम्म जोखिमको अवसर टार्छन् ? त्यस्ता व्यक्ति कत्तिको ‘मोटिभेटेड’ हुन्छन् ? एउटै कम्पनीमा काम गर्ने जाँगर/आँट कसरी आयो ?
लामो समय एउटै कम्पनीमा बसेको व्यक्तिलाई भर्ती गर्नुअघि मानव संसाधन विभागले पनि महत्त्वाकांक्षा नै नभएको व्यक्ति हो कि भन्ने शंका गर्न थाल्छ । यस्ता व्यक्तिको सबैभन्दा ठूलो कमजोरी ‘एउटै स्थिति’मा सहज भएर बस्ने हो । एउटा कम्पनीको संस्कृतिमा भिजेका त्यस्ता व्यक्तिलाई अर्को कम्पनीको संस्कृतिमा ढल्न निकै सकस हुन्छ । कसैले १५/२० वर्ष एउटै कम्पनीमा काम गरेको छ भन्ने सुन्नेबित्तिकै हाम्रो दिमागमा उनीहरू ‘इन्स्टिच्युशनलाइज्ड’ भइसके कि भन्ने प्रश्न उब्जिन्छ । उनीहरूले अर्को कम्पनीमा कसरी अनुकूलन गर्लान् भन्ने सोच्न थालिन्छ । पुराना कामदारहरू हत्तपत्त नयाँ वातावरणमा भिज्न सक्दैनन् भन्ने पूर्वाग्रहसँग मिसिँदा यी प्रश्न त्यस्ता व्यक्तिका लागि विनाशकारी हुन सक्छ ।
हुन त यी सबै चिन्ता प्रश्न व्यक्ति विशेष हुन् । लामो समय काम गर्ने कर्मचारीलाई भर्ती गर्दा एचआरले कसरी सोच्छन्, त्यस्ता व्यक्तिबारे राय कसरी बनाउँछन् भन्ने व्यक्ति विशेषअनुसार फरक हुन सक्छ । कसैले ‘ओहो कस्तो इमानदार कर्मचारी रहेछ’ भनेर सोच्लान् अनि केहीले चाहिँ निरस, उदासीनतासँग जोडेर हेर्लान् । व्यक्तिले लामो समय एउटै कम्पनीमा काम गरेको स्थितिलाई आफ्नो बलियो पक्ष वा कमजोरी केका रूपमा चित्रित गर्छ भन्नेले पनि ठूलै अर्थ राख्छ ।
लामो समय काम गर्दा हरेक २/३ वर्षमा पदोन्नति भइरहेको छ । संस्थाको पदीय भर्याङ उक्लिरहेको छ भने नकारात्मक ढंगले हेरिने जोखिम कम हुन्छ । संस्थागत खुड्किलो चढिरहनु पनि त जागीर फेरेसरहै हो । त्यस्ता व्यक्तिले अनेकौं अनुभव बटुलेको हुन्छ । तर, १५ वर्षभन्दा बढी समय एउटै काम गर्नु अनि उक्लिएर त्यहाँबाट माथि पुग्ने ठाउँ नहुनुचाहिँ चिन्ताकारी हो । पेशाका आधारमा पनि एउटै काममा लामो समय रहनुको अर्थ फरक हुन सक्छ । कोही व्यक्ति वकील वा लेखापालका रूपमा कार्यरत छ भने एउटै संस्थामा १०/१५ वर्ष बस्नु नराम्रो होइन । तर, सृजनशील पेशाहरूमा भने एजेन्सी वा टीम फेरिरहँदा नेटवर्क फेरिन्छ, क्लाइन्ट बेस फराकिलो हुन्छ, हाकीम फेरिएसँगै सिकाइ र करियर विकासमा पनि परिवर्तन आउँछ । विविधता ल्याउन सकिन्छ । नयाँ चुनौती, नयाँ मानिस र नयाँ नयाँ अवधारणाको सामना गर्न पाइन्छ ।
एउटै कम्पनीमा लामो समय बस्दा कर्मचारीमा विशेषगरी उनीहरूको तलब वा कमाइमा प्रतिकूल असर पर्छ । एउटै कम्पनीमा बस्दा तलब ह्वात्तै बढ्ने वा बढाउने अवसर कम हुन्छ । नियमित रूपमा तलब बढ्ने हो भने संस्था फेरेजत्तिकै हुन्छ । तर, कम्पनी फेर्नेको औसत तलब एउटै कम्पनीमा बसिरहनेको भन्दा धेरै हुने अमेरिका र बेलायतमा भएका केही सर्वेक्षणहरूले देखाएका छन् । पछिल्लो समय जागीर फेरिरहने जमात बढ्नुको एउटा कारण जागीरसँगै फेरिने तलब हो । तर, पैसाका लागि आफूले गरिरहेको जागीर फेर्नैपर्छ भन्ने छैन । कुनै जागीरमा लामो समय बस्ने कि नबस्ने भन्नेबारे आआफ्नै तर्क र खुशी हुन सक्छ । तर, एउटै कम्पनीमा ५ वर्ष भइसकेको छ भने आफू कहाँ छु अनि निस्केर कहाँ पुग्न सक्छु भन्नेबारे चाहिँ सोच्नुपर्ने करियर विज्ञहरू बताउँछन् ।