काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक र सप्तगण्डकी अस्पतालबीच सम्झौता गरिएको छ । बैंकका ग्राहकलाई अस्पतालका सेवामा छूट उपलब्ध गराउने सम्बन्धमा दुई संस्थाबीच सम्झौता गरिएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र अस्पतालका अध्यक्ष डा. अमर श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतामा बैंकका सबै किसिमका कार्ड तथा खातावाल र शेयरधनीलाई अस्पतालका सेवामा छूट दिइने उल्लेख छ । सम्झौताअनुसार अस्पतालको रेगुलर प्याथोलोजी, आईसीयू बेड चार्ज, नर्मल बेड चार्ज र सामान्य तथा मुख्य अपरेसन चार्जमा १० प्रतिशत छूट पाइनेछ । त्यस्तै अस्पतालको फार्मेसीमा ५ प्रतिशत छूट सुविधा रहेको बैंकले जानकारी दिएको छ । सम्झौता कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत हृदयराज घिमिरे र अस्पतालका प्रमुख सञ्चालन अधिकृत प्रमोद शर्मा लामिछानेको पनि उपस्थिति थियो ।