काठमाडौं । विद्युतीय सवारीसाधन (ईभी) खरीदका लागि कर्जा उपलब्ध गराउने सम्बन्धमा नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल र नबिल बैंकबीच सम्झौता गरिएको छ । सम्झौतापत्रमा नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक इन्द्रप्रसाद सापकोटाले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौताअनुसार नबिलले हुन्डाईका ईभी तथा इन्टरनल कम्बशन इन्जिन (आईसीई) खरीदका लागि नबिल बैंकबाट १२ दशमलव ९९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ । आवश्यक कागजपत्र प्रमाणीकरण भएको ३ कार्यदिनभित्र ग्राहकले कर्जा सुविधा पाउनेछन् । यस्तो कर्जा ७ वर्ष अवधिको हुने कम्पनीले बताएको छ । ईभी खरीदका हकमा व्यक्तिलाई कुल मूल्यको ८० प्रतिशतसम्म र संस्थालाई ७० प्रतिशतसम्म उपलब्ध गराइने सम्झौतामा उल्लेख छ ।
आईसीईमा भने व्यक्तिले ५० प्रतिशत र संस्थाले ७० प्रतिशतसम्म कर्जा सुविधा पाउनेछन् । ग्राहकले यो सुविधा देशभर रहेका नबिल बैंकका शाखा कार्यालय र हुन्डाईका १७ ओटा शोरूमबाट सहजै प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।