वैदेशिक व्यापारको सहजीकरण मुलुकको अर्थतन्त्रका लागि एक महत्त्वपूर्ण विषयका रूपमा रहिआएको छ । वैदेशिक व्यापार सहज हुँदा यसले आपूर्तिलाई सुनिश्चित बनाउनुका साथै व्यापारसम्बद्ध लागतलाई समेत कम गर्न अप्रत्यक्ष भूमिका खेल्ने गर्छ ।
व्यापारसम्बद्ध सूचना र परिपत्रहरूको एकद्वार प्रणालीअन्तर्गत व्यवस्थित भण्डारण र वैज्ञानिक पद्धतिमा आधारित सहज सम्प्रेषणका लागि प्राविधिक पक्षमा कार्यारम्भ गर्न जरुरी भइसकेको छ ।
वैदेशिक व्यापारको सहजीकरणमा धेरै पक्ष गाँसिएका हुन्छन् । ती पक्षमध्ये सरकारले आवधिक वा परिस्थितिजन्य कारण जारी गर्ने सूचना र परिपत्रहरू पनि महत्त्वपूर्ण पक्षका रूपमा रहेका हुन्छन् । यस्ता सूचना र परिपत्रहरू सरकारका विभिन्न निकायले जारी गर्ने गर्छन् । नेपालको सन्दर्भमा नेपाल राष्ट्र बैंक, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग, अर्थ मन्त्रालय र त्यसअन्तर्गत भन्सार विभाग तथा आन्तरिक राजस्व विभाग, क्वारेन्टाइन कार्यालयहरू, वन विभाग, वनस्पति विभाग, कृषि विभाग, गृह मन्त्रालय र अध्यागमन विभाग, परराष्ट्र मन्त्रालयजस्ता निकायले नेपालको वैदेशिक व्यापारको व्यवस्थापनका सम्बन्धमा आवश्यक सूचना र परिपत्रहरू जारी गर्ने गर्छन् ।
यी निकायबाट जारी हुने यस्ता सूचना र परिपत्रहरूको सूची लामै हुने गरेको छ । यस्ता सूचना र परिपत्रहरूसम्मको पहुँच आफैमा कठिन कार्यका रूपमा रहेको हुन्छ । कुन निकायले कुन समयमा केकस्ता सूचना र परिपत्र जारी गरेको थियो, कुन सूचना र परिपत्रलाई कुन समयमा प्रतिस्थापन, संशोधन वा थपघट गरेको थियो भन्ने विषयमा यथार्थ जानकारी खोज्नु आफैमा झन्झटिलो र पट्यारलाग्दो कार्य हो । सूचना र परिपत्रहरू व्यवस्थित रूपमा भण्डारमा राख्ने र पहुँच सहज गर्ने पद्धतिको विकास हुन नसक्दा सूचना र परिपत्रका प्रावधानहरू पूरा गर्दै व्यवसायीहरूको समय खर्च हुने गरेको छ । कहिलेकाहीँ त विभिन्न निकायबाट जारी हुने सूचना र परिपत्रको जानकारीको कमीले गर्दा व्यवसायीले नोक्सान बेहोर्नुपर्ने वा व्यवसायीले प्रावधानहरू पूरा गर्दागर्दै आपूर्ति गर्नुपर्ने समयसीमा नै घर्कने खतरा उत्पन्न हुन जान्छ । यसले गर्दा विशेष गरी उद्योगको कच्चापदार्थ आयात, प्याकेजिङ सामग्रीको आयात तथा ग्राहकको समयसीमामा निर्यात कार्यहरू प्रभावित भइरहेका हुन्छन् ।
स्वदेशभित्रका सूचना र परिपत्रहरूमात्र होइन, नेपालले कच्चापदार्थ तथा मेशिनरी आयात गर्ने एवम् नेपाली वस्तुहरू निर्यात गर्ने देशहरूका व्यापारसम्बद्ध निकायहरूले जारी गर्ने सूचना र परिपत्रहरू पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छन् । यस्ता सूचना र परिपत्रका विषयवस्तुको समयमै जानकारी हुन नसक्दा नेपाली उद्योगको आपूर्ति व्यवस्था प्रभावित भइरहेको हुन्छ । यस्तै यस्ता सूचना र परिपत्रमा शीघ्र पहुँचको अभावमा प्राप्त हुन सक्ने छूट र सुविधा पनि प्राप्त हुन सकेको छैन ।
यस्ता सूचना र परिपत्रहरूलाई एकद्वार प्रणालीमा ल्याउने पहलहरू पनि यदाकदा हुने गरेको पाइन्छ । नेशनल ट्रेड पोर्टलहरूमार्फत त्यस्ता पहल हुने गरे तापनि सरकारबाट जारी भएका सूचना र परिपत्रहरू पीडीएफ फाइलमा सूचीबद्ध गरेर राख्ने कार्यमा सीमित हुने गरेको देखिन्छ । यस्ता साइटमा सीमित सर्च सुविधाको व्यवस्था गरिएको पाइए तापनि सेवाग्राहीलाई सहज पहुँच हुने गरी वैज्ञानिक प्रणालीको प्रबन्ध हुन सकेको छैन । नेपाल ट्रेड इन्फरमेशन पोर्टलमा यस्ता कानूनी प्रावधानका बारेमा सर्च इन्जिनबाट खोजी गर्ने सुविधा उपलब्ध हुने भए तापनि आवधिक सूचना र परिपत्रहरूलाई यसमा व्यवस्थित गर्न सकिएको छैन, जुन वैदेशिक व्यापारको सहजीकरणमा सर्वाधिक महत्त्व राख्छन् ।
उदाहरणका लागि सुन, चाँदी आयात सम्बन्धमा नेपाल राष्ट्र बैंकले जारी गरेको कार्यविधि, आयातमा बन्देज लगाइएका वस्तुसम्बन्धी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सूचना, निर्यातमा प्रत्यक्ष नगद अनुदानसम्बन्धी कार्यविधिलगायत कानूनी व्यवस्थालाई नै लिन सकिन्छ । यी सूचना कहाँ छन्, कसरी राखिएका छन् र कसरी जानकारी लिन सकिन्छ भन्ने बारेमा ती सबै निकायका साइट भिजिट गर्नुपर्छ, ती साइटमा पनि कहाँ कसरी राखिएका छन् भन्ने बारेमा खोज गर्नु अझ कठिन देखिन्छ । राखेको साइट खोजिसकेपछि भनी दस्तावेजभित्र कुन प्रावधान कहाँनेर राखिएको छ भन्ने थाहा पाउन पूरै दस्तावेज एकएक गरी पढ्दै नोट गर्नुपर्ने अवस्था छ ।
व्यावहारिक दृष्टिबाट हेर्दा सूचना र परिपत्रहरू आफैमा वर्णनात्मक वाक्यका दस्तावेजका रूपमा तयार पारिएका हुन्छन् । त्यस्ता वाक्यभित्र रहेका सारतत्त्वलाई तथ्य र तथ्यांकका रूपमा सूचीबद्ध गरी तिनको तालिकीकरण र अन्तरआबद्धता सृजना गर्नु आजको सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको छ ।
उपर्युक्त पक्षलाई दृष्टिगत गर्दै स्वदेश र विदेश दुवैतर्फका व्यापारसम्बद्ध सरकारी निकायले जारी गर्ने सूचना र परिपत्रहरूका बारेमा सेवाग्राहीलाई समयमै यथार्थ जानकारी प्राप्त हुने प्रणालीको व्यवस्था गर्नु अति जरुरी देखिएको छ । यसका लागि सर्वप्रथम परिपत्र जारी गर्ने निकायले ती जारी हुने सूचना र परिपत्रलाई टुक्र्याउँदै त्यसका प्रावधानको तालिकीकरण गर्नुपर्ने देखिन्छ । यसरी तालिका तयार गर्दा पुराना प्रावधान र नयाँ प्रावधान एकै क्लिकमा तालिकाबद्ध हुने गरी आउटपुट आउने सुविधासहित तयार गर्नुपर्छ । उदाहरणका लागि आयात प्रतिबन्ध लगाइएका वस्तुलाई नै लिन सकिन्छ । मानौं कुनै सेवाग्राहीलाई नेपालमा आयात प्रतिबन्ध लगाइएका वस्तु केके रहेछन्, यस्तो प्रतिबन्ध कहिले लगाइएको रहेछ, कुन निकायले लगाएको रहेछ र कहिलेसम्म लागू हुने रहेछ भन्ने जानकारी चाहिएको छ भने सर्च इन्जिनमा एक्स्पोर्ट रेस्ट्रिक्शन इन नेपाल प्रविष्ट गर्दा वस्तुको एचएसकोडसहितको सूची, लागू भएको मिति, लागू हुने अवधि र लागू गर्ने निकायको नाम टेबलमा आउने व्यवस्था गर्नु आवश्यक हुन्छ ।
यस्तै सुन आयातको कार्यविधिका बारेमा कुनै सेवाग्राहीलाई कुनै जानकारी आवश्यक परेको खण्डमा सर्च इन्जिनमा गोल्ड इम्पोर्ट इन नेपाल प्रविष्ट गर्दा साथ कोटाको परिमाण, कोटा लागू गरेको समय र लागू हुने अवधि, बैंकर्स एशोसिएशनले कसरी बैंकलाई कोटा विनियोजन गर्छ, कुनकुन वस्तुगत संघको सिफारिश चाहिन्छ भन्ने जानकारी, सुन व्यवसायीले ती वस्तुगत संघबाट कसरी सुन किन्न सक्छन् आदि बारेमा एकीकृत जानकारी एकै टेबलमा आउने सुविधा हुन जरुरी छ । यदि यस्ता सूचना र परिपत्रहरू अन्तरनिकाय चरित्रका छन् भने अन्तरनिकाय सूचना र परिपत्रलाई एकआपसमा आबद्ध हुने गरी अन्तरआबद्धतायुक्त टेबलहरू आउटपुटका रूपमा आउने सुविधा पनि यस्तो सर्च इन्जिनमा थप्न जरुरी छ । नेपालका सूचना र परिपत्रहरूमा मात्र सीमित नरही वस्तु तथा सेवाको वर्गीकरणका संकेत नम्बरहरूलाई आधार मानी सम्बद्ध वस्तु र सेवामा सम्बन्धमा गन्तव्य वा लक्षित मुलुकमा विभिन्न सरकारी निकायका सूचना र परिपत्रहरूको जानकारी पनि सोहीअनुरूप गर्नुपर्ने देखिन्छ । यस्तो गर्न सकेको खण्डमा स्वदेशी उद्योगका लागि कच्चापदार्थ र मेशिनरी आयात गर्ने आयातकर्ता होस् या निर्यातकर्ता सूचना र परिपत्रका व्यवस्थाहरू एक क्लिकमा प्राप्त गरी प्रक्रियागत अनिश्चितताको जञ्जालबाट उन्मुक्त हुने अवस्था सृजना हुन जान्छ ।
यसरी उपर्युक्त पक्षलाई दृष्टिगत गरी व्यापारसम्बद्ध सूचना र परिपत्रहरूको एकद्वार प्रणालीअन्तर्गत व्यवस्थित भण्डारण र वैज्ञानिक पद्धतिमा आधारित सहज सम्प्रेषणका लागि प्राविधिक पक्षमा कार्यारम्भ गर्न जरुरी भइसकेको छ । यसका लागि व्यापारआबद्ध सूचना र परिपत्र जारी गर्ने निकायहरूमा यी सूचना र परिपत्रको डिजिटिलाइजेशन गर्न जनशक्ति विकास र परिचालनको कार्य तत्काल शुरू हुन जरुरी भइसकेको छ । यसो गर्न सकेको खण्डमा सूचना र परिपत्रका बारेमा व्यवसायीहरूलाई सही सूचना समयमा प्राप्त गरी आफ्नो व्यवसाय सहज गर्न थप मद्दत मिल्ने र व्यापारमा प्रक्रियागत झन्झट र लागत न्यूनीकरण हुने देखिन्छ ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।