काठमाडौं । देवीदेवताबारे जानकारी लिन चाहानुहुन्छ ? सृष्टिको शुरु कसरी भयो हेर्न चाहानुहुन्छ ? चाहानुहुन्छ भने तपाईंहरूका लागि एक अवसर छ । काठमाडौं, बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा अहिले देवीदेवताको प्रदर्शनी चलिरहेको छ ।
प्रदर्शनीमा ब्रह्मा, विष्णु, महेश्वर, गणेशसँगै विभिन्न देवीदेवताको चित्रहरू राखिएका छन् । प्रदर्शनीमा सृष्टिको शुरु कसरी भयो भन्नेबारे पनि देखाइएको छ । प्रदर्शनीमा देवीदेवता मात्रै होइन, तराइ, पहाड र काठमाडौंको लोक संस्कृति झल्काउने हस्तकलाका चित्र पनि राखिएका छन् ।
नेपाल हस्तकला महासंघको ५० औं वार्षिकोत्सव तथा नेपाल कला परिषदको ६० औं वार्षिकोत्सवको अवसरमा गत आइतवारबाट नेपालका देवीदेवताहरू नामक प्रदर्शनी गरिएको हो ।
प्रदर्शनीको उद्घाटनमा भारतीय राजदूत नवीन कुमार श्रीवास्तव, नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य, नेपाल कला परिषद्का अध्यक्ष सागर शमशेर जबरा, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डंगोलको उपस्थित थिए । प्रदर्शनी यही मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ ।
तस्वीर : सुनिल शर्मा / आर्थिक अभियान