काठमाडौं । सिभिल बैंकले बाँकेमा ‘गो क्यासलेस’ अभियान शुरू गरेको छ । बैंकले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका र जानकी गाउँपालिकामा उक्त अभियान शुरू गरेको हो । मङ्सिर १० गते सम्पन्न वार्षिकोत्सवको अवसरमा ती स्थानीय तहमा छुट्टाछुट्टै अभियान शुरू गरिएको बैंकले जानकारी दिएको छ । जानकी गाउँपालिकामा उक्त कार्यक्रमको उद्घाटन गाउँपालिकाकी उपाध्यक्ष लालमतिदेवी कठरियाको प्रमुख आतिथ्यमा गरिएको हो । कार्यक्रममा जानकी गाउँपालिका वडा नं १ का अध्यक्ष सुरेशकुमार चौधरी, फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा, अस्थायी प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक सुरतबहादुर बोहरालगायतको उपस्थिति थियो ।
त्यस्तै नेपालगञ्जमा उक्त अभियानको उद्घाटन उपमहानगरपालिकाका उपमेयर कमोरद्दिन राईको प्रमुख आतिथ्यमा गरिएको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालयका उपनिर्देशक छविलाल घिमिरे, वडा नं ९ का अध्यक्ष गोविन्दप्रसाद रेग्मीलगायतको उपस्थिति थियो ।