काठमाडौं । सानिमा बैंकले शैक्षिक कर्जा प्रमाणीकरण क्यूआर कोडबाटै हुने व्यवस्था मिलाएको छ । अध्ययन गर्न विदेश जाँदा विद्यार्थीहरूले लिने शैक्षिक कर्जाको प्रमाणीकरण विभिन्न निकायहरूमा हुँदै आएकोमा अब बैंकको क्यूआर कोडबाटै हुने भएको हो । ‘प्रक्रिया सरल र छिटो गर्ने उद्देश्यले क्यूआर कोडसहितको कर्जा स्वीकृतिपत्र ल्याइएको छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अहिलेसम्म कर्जा स्वीकृतिपत्रको प्रमाणीकरण विभिन्न निकायहरूबाट फोन वा ईमेलमार्फत हुँदै आएकोमा अब कर्जा स्वीकृतपत्रमा उल्लिखित क्यूआर कोड स्क्यान गरी बैंकको आधिकारिक वेबसाइटमार्फत कुनै पनि देशबाट गर्न सकिने बैंकले बताएको छ । सो प्रविधिले विद्यार्थीको भिसा प्रक्रिया सरल र छिटो गर्न सहयोग पुग्ने बैंकको दाबी छ ।