काठमाडौं । अहिले विगत केही दिनदेखि काठमाडौंको नयाँ बानेश्वर संसद भवन हुँदै अगाडि बढ्दा बटुवाहरु टक्क अडिन्छन् । कारण केही कलाकारहरुले आफ्ना ब्रसका माध्यमबाट भित्तामा आफ्नो कला प्रस्तुत गरिरहेका छन् ।
आर्टुडिओले समावेशीकरण तथा समानता विषयमा केन्द्रित भित्ते कला उत्सव अमेरिकन राजदूतावाससँगको सहकार्य गर्दै परियोजना सञ्चालन गरेको क्यूरेटर कैलाश के श्रेष्ठ बताउँछन् । ‘उजाड भित्ताहरुको मुहार फेर्ने र शहरका सार्वजनिक खाली भित्ताहरूमा कला सृजना गर्ने गरी हामीले कार्यक्रमको परिकल्पना गरेका हौं,’ उनले थपे ।
अमेरिकी राज्य क्यालिफोर्नियाको लस एन्जलसबाट आएका प्रख्यात अमेरिकी कलाकार अलेहान्द्रो पोली जुनियर (“म्यान वन”) ले नेपाली कला समूह आर्टुडियोसँगको सहकार्यमा संयुक्त रुपमा काम गरिरहेका छन् । काठमाडौंमा मात्र नभई जनकपुरमा पनि भित्ते कला उत्सव आयोजना हुने जानकारी आयोजकले बताए ।
सामाजिक विविधता र पहिचानसहित ऐतिहासिक विरासत बोकेको भित्ते चित्रकलालाई समसामयिक सन्दर्भमा प्रवर्द्धन गर्न र उत्प्रेरित गर्न यो परियोजनाको परिकल्पना गरिएको हो। सांस्कृतिक आदानप्रदान, अनुसन्धान, कार्यशाला, सार्वजनिक प्रवचन र प्रकाशनको संयोजन गरेर सहरका भित्ताहरूलाई जीवन्त बनाइने लक्ष्य रहेको आयोजकले बताएको छ ।
तस्वीरहरु : सुनिल शर्मा / आर्थिक अभियान