काठमाडौं । कुमारी बैंक लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीलाई लक्षित गरी ‘कुमारी रेमिट आईपीओ बचत खाता’ सञ्चालनमा ल्याएकोे छ । वैदेशिक रोजगारमा रहेका आवेदनकर्ताका लागि सुरक्षित गरिएको प्राथमिक शेयरमा उक्त खातामार्फत आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।
श्रम स्वीकृति, वैध भिसा र पासपोर्टका आधारमा रेमिट आईपीओ बचत खाता खोलेर प्राथमिक शेयरमा आवेदन दिन सकिने बैंकले बताएको छ । शाखा अथवा अनलाइन माध्यमबाट समेत सो खाता खोल्न सकिने बैंकले बताएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले प्राथमिक शेयरमा लगानी गर्ने अवसर सुनिश्चित गर्न कुमारी बैंकले ल्याएको उक्त सुविधाले मद्दत गर्ने विश्वास गरिएको छ । बैंकले १९९ शाखा, १९५ एटीएम, ६० शाखारहित बैंकिङ इकाइ र ३६ एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सेवा प्रवाह गर्दै आएको छ ।