काठमाडौं । कतारमा जारी फिफा विश्वकपको क्वाटर फाइनलको पहिलो खेल अन्तर्गत शुक्रवार राति ब्राजिल र क्रोएशियाले एक अर्काको सामना गर्दैछन । उक्त खेल नेपाली समय अनुसार राति ८ : ४५ बजे शुरू हुने छ ।
तर, काठमाडौंको कुलेश्वरस्थित नवनीत टड्लर्स जोन विद्यालयमा शुक्रवार दिउँसो भएको खेलमा भने क्रोएशियाले ब्राजिललाई १ - ० गोल अन्तरले पराजित गरेको छ ।
स- साना विद्यार्थीहरूलाई खेलकुदको माध्यमबाट शारीरिक तन्दुरस्ता तथा जारी फिफा विश्वकपप्रति जागरुक बनाउन विद्यालयले विद्यार्थीहरूलाई आफूलाई मनपर्ने देशको जर्सी लगाउन अनुरोध गरेको थियो । त्यसै अनुरुप विभिन्न देशका जर्सी लगाउने विद्यार्थीहरूको छुट्टा छुट्टै समूह बनाएर खेलहरू सञ्चालन गरिएको थियो ।
विद्यालयकी प्रिन्सिपल नीता श्रेष्ठले विजेता टीमलाई ट्रफी प्रदान गरेकी थिइन् ।
तस्वीरहरू : सुनिल शर्मा / आर्थिक अभियान