ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पुरानाभन्दा नयाँ पुस्ता कमजोर हो ?

२०७९ मंसिर, २७  
लेख | दृष्टिकोण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी

हरेक पुरानो पुस्ताले नयाँलाई अल्छी, मपाइँ भन्ने पुस्ताका रूपमा चित्रित गर्छन् । मैले नगरे यस (छोराछोरी) ले के गरी खालान् भन्ने सोच भएका अभिभावक हरेक टोलमा भेटिन्छन् । घुमफिर र मोजमस्तीमा पैसा बर्बाद गर्नेदेखि धेरै दु:ख कष्ट सहन नसक्ने ‘नुन चिनी’को मान्छे भन्छन् । पुराना पुस्ताका अधिकांश मानिसले आफूभन्दा तल्लो पुस्ताकालाई कमजोर, परिश्रम नगर्ने, कम सहनशील बताउँछन् । यो चलन अहिलेदेखिको होइन, शताब्दीऔं पुरानो हो । ‘अहिलेका केटाकेटी त कस्ता ?’ भनेर गुनासो नगर्ने पाका पुस्ता पाउनै मुश्किल छ । तर, के साँच्चै हाम्रो पुस्ता पुराना पुस्ताभन्दा कमजोर नै हो ? वास्तवमा, बूढा पुस्ताले निर्बल ठानेका विशेषताहरूमा नयाँ पुस्ता बलियो भएको प्रमाणहरूले देखाएका छन् । बेबी बूमर (सन् १९४८ देखि सन् १९६४ को बीचमा जन्मिएका अनि जेन एक्स (सन् १९६५ देखि सन् १९८० को बीचमा जन्मिएका)हरूले भने आफूभन्दा पछाडिका पुस्ताहरूलाई अति नै रुखो अनि कठोर ढंगले हेर्ने गरेको अनि पुराना मान्यताहरूमा तौलिने गरेको विज्ञहरू बताउँछन् । पाका पुस्ताले तन्नेरी पुस्तालाई कमजोर ठान्ने यो पुरातन प्रवृत्ति कहिले जाला ?

हजारौं वर्षदेखि मानिसहरूले कान्छा पुस्ताबारे गुनासो गर्दै आएका हुन् । आफूपछिका पुस्तालाई तिरस्कार गर्नु/निच देख्नु मानवीय प्रकृति नै हो । तन्नेरीका गुणको उपेक्षा गर्नु वयस्कहरूको प्रवृत्ति नै भएको अनि यो सदियौंदेखि चलिरहेको अष्ट्रेलियाको क्विन्सल्यान्ड इन्ष्टिच्युट अफ टेक्नोलोजीमा व्यवस्थापनका प्राध्यापक पिटर ओ’कोनोर भन्छन् ।

यस्तो खालको रूढीवादी सोच सधैं जीवित रहन्छ । नेपालमा मात्रै होइन, अमेरिकामा पनि अधिकांश अभिभावकहरूले अहिलेका केटाकेटीमा आफ्ना पालामा सोही उमेरमा भएको सकारात्मक गुण नभएको सोच्छन् । अहिलेको युवायुवतिहरूमा ती गुण नै नभएर यस्तो सोचिएको होइन । वास्तवमा यो आफ्नो विगतलाई वर्तमानमा लाद्न खोज्ने पाका व्यक्तिहरूको प्रवृत्तिका कारण भएको हो ।

नयाँ पुस्ताले एउटै घर किन्न नसक्नुमा उनीहरूकै दोष हो भनेर फेब्रुअरीको शुरूमा बेलायती प्रोपर्टी गुरु क्रिस्टी अलसोपले भनेपछि उनी निकै आलोचित बनिन् । हाइ प्रोफाइल व्यक्तिहरूले आफूभन्दा तल्लो पुस्ताबारे यस्तो अभिव्यक्ति दिएर विवादित बनेकी अलसोप पहिलो व्यक्ति होइनन् । अष्ट्रेलियाका रियल इस्टेट व्यापारी टिम गर्नरले युवाहरूले घर किन्नुभन्दा एभोकाडो टोस्टमा धेरै पैसा खर्च गरेको अभिव्यक्ति दिएका थिए ।

सन् २०१६ मा सन् १९८० देखि सन् १९९४ को बीचमा जन्मिएकाहरूको वर्णन गर्न कोलिन्सको शब्दकोषमा ‘जेनरेशन स्नोफ्लेक’ भन्ने शब्दावली नै थपिएको थियो । सन् १९९७ देखि सन् २०१२ को बीचमा जन्मिएका (जेन पुस्ता)हरूले ९–५ को जागीर खान मानिरहेका छैनन्, कार्यालयमै पूरै समय बसेर किन काम गर्नुपर्‍यो भनेर प्रश्न उठाइरहेका छन् । यसले गर्दा पनि उनीहरूलाई पुराना पुस्ताले अल्छी भनेका हुन् कि ?

नयाँ पुस्ताभन्दा आफू मेहनती अनि परिश्रमी ठान्छन् पाका पुस्ता । तर, यो कसरी नाप्न सकिएला ? केही विज्ञ यसलाई नाप्न सकिन्छ भन्छन् । सन् २००४ देखि सन् २००८ को बीचमा विश्वविद्यालय तहको पढाइ पूरा गरेका मिलेनियल्सहरूमा सन् १९८७ भन्दा अगाडि नै स्नातकोत्तर पूरा गरेकाहरू भन्दा कम सहनशील भएको सन् २०१० मा गरेको एउटा अध्ययनले देखाएको थियो । अन्य अध्ययनहरूले भने युवा पुस्ता मनोविक्षुब्ध रहेको र उनीहरूलाई पहिचानको आवश्यकता बढेको देखाएको छ । सन् २०१२ मा भएको एउटा अध्ययनले पनि युवा पुस्ता विगतका युवाभन्दा धेरै आत्मकेन्द्रित देखाएको थियो ।

यी सबैको अर्थ पुरानाभन्दा युवा पुस्ता कमजोर नै हुन् भन्ने चाहिँ होइन । दशकौं पुरानो मापदण्डबाट चलेको व्यक्तिले आधुनिक र प्रविधि केन्द्रित पुस्ताबारे धारणा बनाउने शैली मात्रै हो । पुराना पुस्तालाई भावनाहरू दबाउन सिकाइएको थियो । तर, नयाँ पुस्तामा सिकाइ ठीक उल्टो छ । पुराना पुस्तालाई निर्बल हुनु व्यक्तिको ताकत नभएर दुर्बलता हो भनेर पढाइयो । यसैले गर्दा बुझाइ फरक परेको पुस्तान्तरसम्बन्धी समस्या भोगिरहेका घरपरिवार र युवायुवतिलाई परामर्श दिँदै आएका लाइफस्ट्यान्स हेल्थका मानसिक स्वास्थ्य विज्ञ डा. कार्ल नास्सा भन्छन् ।

युवा पुस्ता कमजोर छ भन्ने सोच नै पाखण्डी हो । फरकफरक पुस्ताले आआफ्नो समस्या व्यक्त गर्ने तरीकामा देखिएको बेमेलका कारण समस्या उत्पन्न भएको हो । पाका पुस्ताले पनि समस्यै नभोगेका होइन । तर, यस्ता समस्या व्यक्त गर्नुलाई ‘अनप्रोफेशनल’ मानिन्थ्यो । अहिलेका पुस्ता पारदर्शी बनेका छन्, समस्या भनिहाल्छन् । पुराना पुस्ताहरूले खाइनखाई पैसा जोगाए । हाम्रै बाउआमाले पनि यस्तै गरेका हुन् । त्यति बेला पैसा महँगो थियो अरू चिज सस्तो थियो । तर, अहिले पैसा सस्तो भएको छ । घरजग्गाको भाउ आकाशिएको छ । मुद्रास्फीतिसँग समायोजना गर्दा तलब झन् झन् घट्दो । विशेषगरी निजीक्षेत्रमा जागिर असुरक्षित भएको छ । त्यति बेला केही हजारमै घरजग्गा किन्न सकिन्थ्यो । अहिले लाखौं रुपैयाँमा पनि पाइँदैन ।

सहनशीलता नभएकै कारण अहिलेको पुस्तालाई कुण्ठित, निराश र सधैं चिन्तित भनेर पाका पुस्ताले चित्रित गर्छन् । कोरोना भाइरसको महामारीका कारण लामो समयसम्म ‘आइसोलेटेड’ पुस्ता हाम्रै हो । सर्वव्यापी आर्थिक असुरक्षा त छँदै छ । हरेक पुस्ताले सामना गर्ने चुनौती फरकफरक हुन्छ । यी दुईबीच तुलना गर्नै मिल्दैन । यसमा स्मार्टफोन, सामाजिक सञ्जाललगायत विषयले उत्पन्न गराउने मानसिक चुनौतीको पनि कुरा आउँछ ।

हरेक पुस्ताको गतिविधि र आस्था उनीहरूले सामना गर्ने ‘युनिक’ समस्या र चुनौतीले निर्धारण गर्छ । हाम्रो बाउ र हजुरबाउ पुस्ता स्मार्टफोनको सुविधा/अप्ठ्यारोविनै हुर्किए, अनलाइनमा हुर्किनुको जटिलतासँग जुध्नु परेन । पुराना पुस्ताले शिक्षामा हाम्रो जत्तिकै पहुँच नपाए पनि मध्यम वर्गीय जागीरमा अवसर हाम्रो भन्दा धेरै थियो । उच्च शिक्षाका लागि लाखौं रुपैयाँ ऋण पनि लिनु परेन । उनीहरूले अहिले हामीले भोगिरहेका समस्याहरू पनि भोग्नु परेन ।

(बीबीसीको सहयोगमा)

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)