काठमाडौं । एभरेष्ट बैंकको प्रस्तावित लाभांश पारित गरिएको छ । बैंकको सोमवार बसेको २८औं वार्षिक साधारणसभाले प्रस्तावित २० दशमलव ६८ प्रतिशत लाभांश पारित गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९को नाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र ७ दशमलव ६८ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत ) वितरण गर्ने प्रस्ताव गरेको थियो ।
त्यस्तै साधारणसभाले लेखापरीक्षण प्रतिवेदनसहित आर्थिक वर्ष २०७८/७९ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको बैंकले जानकारी दिएको छ ।
बैंकको अधिकृत पूँजी रू. १० अर्बबाट वृद्धि गरी रू. १५ अर्ब पुर्याउनका लागि प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ । बैंकको साधारणसभाले आव २०७९/८० का लागि श्री एन.अमात्य एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय पनि सर्वसम्मतिले पारित गरेको छ ।