काठमाडौं । नेपाल टेलिकम (एनटीसी)ले सिभिल बैंकको मोबाइल बैंकिङ एप नि:शुल्क चलाउन मिल्ने व्यवस्था गरेको छ । त्यसका लागि टेलिकम कम्पनी र बैंकबीच मंगलवार सम्झौता गरिएको छ । सम्झौतापत्रमा बैंकका चिफ बिजिनेस भोलाबहादुर विष्ट र नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत संगीता अर्यालले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार पुस १ गतेदेखि नेपाल टेलिकमको मोबाइल सेवा प्रयोगकर्ताहरूले डाटा अन गरी सिभिल बैंकको मोबाइल बैंकिङ एप मार्फत फन्ड ट्रान्सफर, क्यूआर पेमेन्ट लगायतका फिचर नि:शुल्क उपयोग गर्न पाउनेछन् । नेपाल राष्ट्र बैंकको विद्युतीय माध्यममार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीति बमोजिम बैंकले आफ्ना ग्राहकको सुविधा ध्यानमा राख्दै सम्झौता गरिएको बताएको छ । बैंकका अनुसार हाल बैंकको एप प्रयोगकर्ताको संख्या साढे ४ लाखभन्दा बढी रहेको छ ।