काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले मर्जर गर्न अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा संयुक्त निवेदन दिएका छन् । दुवै बैंकले बुधवार निवेदन पेश गरेका हुन् । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बीओकेका अध्यक्ष प्रकाश श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष संयुक्त निवेदन पेश गरेका हुन् । सो अवसरमा दुवै बैंकका अध्यक्षद्वयसँगै सम्बन्धित बैंकका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति पनि रहेको थियो । यसअघि ग्लोबल आइएमई बैंक र बीओकेबीच मर्जर प्रयोजनका लागि गत असार २ गते प्रारम्भिक सहमति भएको थियो । त्यस्तै कात्तिक २८ गते मर्जरसम्बन्धी अन्तिम सहमतिका लागि दुई बैंकबीच सम्झौता गरिएको थियो ।