आफ्नो दल वा आफूले भोट दिएर जितेकाहरूको खुशीमा हिजोआज खुब बधाई तथा शुभकामना साटासाट चलिरहेको छ । अझ सामाजिक सञ्जालमा नेतासँग खिचेका फोटो पोस्ट्याउनेको भीड पनि बाक्लै छ । तर उहाँहरूको विजयको यो खुशीलाई म के गरूँ ? यो खुशी ओढौं कि ओछ्याऊँ भएको छ । किनकि मैले दिएको भोटले काम गर्ला जस्तो छैन । तपाईं हामीले भोट दिएकाले मात्र कसैको सरकार बन्छ भन्ने ठान्नुभएको छ भने त्यो केवल तपाईंको भ्रम हो है ! चुनावमा सबैभन्दा बढी सिट जितेर कुनै दल अगाडि आयो भन्दैमा यो विश्वास नगर्नुस् कि उसले आफ्नो सरकार बनाइहाल्छ भनेर । अनि सरकार बनाइहालेछ भने पनि त्यो कर्कलाको पानी हो है । सानो हावा चल्यो कि फुत्त कुर्सीबाट खस्न बेर लाग्दैन । देख्नुभएन विगतमा दुई तिहाइको सरकार ढलेको ?
हे कुर्सी ! तँ ठूलै भाग्यमानी रहेछस्, कस्तो तपस्या गर्छस् हँ ? बहुमत, अल्पमत, अमत, विमत, सम्मत सबै तेरै अधीनमा छन् । कुर्सी देख्नासाथ जो कोहीको पनि मुखभरि पानीको ट्यांकर नै रसाउँछ ।
अर्को सत्य के हो भने हिजोआज सरकार बनाउने कार्यक्रमका विभिन्न मोडेल छन्, जसका आधारमा सरकार बनाइन्छ । यसै मोडलका आधारमा सरकार गिराइन्छ पनि । यो सबैमा अहिले अध्यादेश मोडेल सबैभन्दा अगाडि, सजिलो र प्रभावकारी देखिएको छ । तर त्यो मोडेल लागू गर्न भने गाह्रै छ । त्यसो त ठगबन्धन मोडेल, जेल भ्रमण मोडेल, रेशम फिरीरी मोडेल, राष्ट्रपति मोडेलहरू पनि छन् ।
अहिले सबैभन्दा चलेको चैं रिसोर्ट मोडेल हो । यो मोडेलमा होटल वा रिसोर्टमा सांसदहरूलाई थुनेर राखिन्छ, त्यहाँ बसेर कुर्सीहरूको आपसमा भागबण्डा गरिन्छ र एउटा पक्का डिल हुन्छ । मन्दिर, मस्जिद, गिर्जाघर सबैलाई जोड्ने वा तोड्ने ताकतिलो पानी त्यहीँ हुन्छ रे ! तातो–तातो, रातो, पहेँलो जेजस्तो रङको भए पनि त्यसको ताकत चाहिँ तगडा हुँदो रहेछ । त्यही भएर त संसद्मा लड्छन्, भिड्छन्, फुट्छन्, एकअर्कालाई कुट्छन् । तर रिसोर्टमा पुगेपछि ठ्याक्कै जुट्छन् । भलै यो मोडल नेपालमा मात्र होइन, विश्वमै चलेको छ ।
यसरी जब सबै मिलेर कुर्सीहरूको बाँडचुँड गरिन्छ, तब रिसोर्ट मोडेलले आफ्नो रंग देखाउन शुरू गर्छ । यो मोडेल यति तिलस्मी छ कि यसबाट को कसको साथमा छ, को छैन भन्ने कुरा पत्तै लाग्दैन । जसले आज तपाईंको थालमा खाना खाइरहेको छ, उसले पहिले नै तपाईंको थालमा प्वाल पारेर बसेको हुन सक्छ । कसले कसलाई खसालेको हो, कसले कसलाई उचालेको हो भन्ने थाहै हुँदैन । जो अल्पमतमा हुन्छ, ऊ मन्त्री, मुख्यमन्त्री वा प्रधानमन्त्री समेत बन्नसक्छ । र, जो संसद्मा धेरै सिट जितेर बहुमतमा छ, ऊ किनारामा बसेर सुर्ती माडिरहेको पनि देख्न सकिन्छ ।
हे कुर्सी ! तँ ठूलै भाग्यमानी रहेछस्, कस्तो तपस्या गर्छस् हँ ? बहुमत, अल्पमत, अमत, विमत, सम्मत सबै तेरै अधीनमा छन् । कुर्सी देख्नासाथ जो कोहीकोे पनि मुखभरि पानीको ट्यांकर नै रसाउँछ । यसमा यो मोडेल वा ऊ मोडेलको कुरा पनि होइन । प्रायः सबै मोडेलको अभीष्ट त कुर्सी नै हो । यसरी जब कसैलाई कुनै उच्च महत्त्वाकांक्षाले लखेट्न थाल्छ, तब उसले मान्छेका असन्तुष्टिहरूका मादल बजाउन थाल्छ । अनि मादल बजाउँदा बजाउँदै ऊ आफू कुर्सीमा विराजमान हुन पुग्छ । त्यसैले यो भन्न सकिन्न कि यो सबै कुर्सीको भाग्य हो या भाग्यको कुर्सी हो । जब कुर्सीमा बस्छ, लुते बिरालो पनि बाघ बन्छ । त्यसैले उहिले कुर्सीलाई सिंहासन भनेका रैछन् ।
‘म्युजिकल चेयर’ खेलमा म्युजिक बन्द हुनासाथ कुर्सीमा पहिल्यै बस्नुपर्ने हुन्छ । तर राजनीतिको खेलमा भने कुर्सी दौड प्रतियोगिताको तरीका यस्तो हुन्छ कि जब म्युजिक बन्द हुन्छ, तब झट्ट कुर्सीमा बस्न झम्टने भन्ने हुँदैन । राजनीतिक खेलमा म्युजिक बन्द भएपछि पनि कुर्सीमाथि चढ्ने, उफ्रने कार्यक्रम मज्जाले चलिरहन्छ । कुर्सीमा बसिसकेकालाई पनि खसालेर बस्न पाइन्छ, खसिसकेकालाई पनि उठाएर राख्न पाइन्छ ।
सरकार बनाउन अहिले खुब चलेको ठगबन्धन मोडेलका बारेमा त तपाईंलाई थाहै छ कि जब कुर्सी नजिकै देखिन्छ, तब एक–अर्कालाई देख्नासाथ खुकुरी वा तरबारले गर्दन काट्नेहरू पनि एक–अर्कालाई फूल दिएर सामूहिक रूपमा कुर्सीमा विराजमान हुन्छन् । त्यस्तै जो मान्छे हिजो अँगालो मारेर एक अर्काेलाई फूल सुँघाएर हिँड्थे, कुर्सीका लागि पर्यो भने आपसमा तरबार नै भिडाउन बेर लाउन्नन् । यी सबै कुर्सीकै कमाल हुन् । कुर्सीको किस्सा अपरम्पार छ । त्यसैले हिजो तरबारले सरकार चलाउँछ भन्थे, अहिले नयाँ नयाँ खुलेका बूढानीलकण्ठ, बालकोट वा खुमलटार दरबारले चलाउँछ । तर ठगबन्धन मोडेलको सफलता भने अध्यादेशमा टिकेको हुन्छ है !
त्यसैले त हिजोआज पार्टी कार्यालयमा भन्दा होटल रिसोर्टमा बसेरै राजनीति तय हुन्छ । हिजोआज मन्त्री, मुख्यमन्त्रीका कुर्सी, होटल, रिसोर्टहरूबाटै निक्लन्छन् । मन्त्री बस्ने कुर्सी होटलहरूमै तय हुन्छन् । तर भोटर बाबु ! अब त तिमी बुझ कि तिम्रा भोटले मात्र सरकार बन्छ वा कोही मन्त्री बन्छन् भन्ने कुरा केवल तिम्रो भ्रम हो ।
जे होस्, अहिलेलाई भने देशमा के केन्द्र, के प्रदेश, कुर्सी प्राप्त गर्न ठगबन्धन मोडेलको सूत्र नै प्रष्ट देखिएको छ । र, कुर्सी पुग्ने बाटो पनि रिसोर्टतिरबाट पो निक्लिरहेको देखिन्छ । उतिबेला राजाले पशुपतिनाथले सबैको रक्षा गरून् भन्थे । तर अचेल देश अध्यादेशले रक्षा गरून् भन्न थालेका छन् ।