काठमाडौं । कामना सेवा विकास बैंकले एससीटी–यूपीआई डेबिट कार्ड जारी गरेको छ । बैंकले ग्राहकलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले एससीटी–यूपीआई डेबिट कार्ड सेवा शुक्रवारदेखि शुरू गरेको हो ।
बैंकका नायव महाप्रबन्धक लालबहादुर थिङ र स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजूले संयुक्त रूपमा उक्त सेवाको शुभारम्भ गरेका हुन् । कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत विकास ढुंगाना र कर्मचारीहरूको उपस्थिति थियो ।
यससँगै स्मार्टच्वाइस टेक्नोलोजिज र कामना सेवा विकास बैंकबीच एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगको क्षेत्रमा सहकार्य हुने भएको छ । यसले ग्राहकलाई भुक्तानीको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा दिन सहज हुने अपेक्षा गरिएको छ । साथै एससीटी सञ्जालको प्रयोगले ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पोसलगायत सेवा लिन सजिलो हुने बैंकको भनाइ छ ।