काठमाडौं । सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियान शुरू गरेको छ । बैंकले ग्राहकलाई नगदरहित कारोबारमा प्रोत्साहन गर्ने उद्देश्यले आइतवार एक कार्यक्रम आयोजना गर्दै उक्त अभियान शुरू गरेको हो । जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंक, जनकपुर कार्यालयका निर्देशक निरा ताल्चा भँडेललगायतको सहभागिता थियो ।
सो अवसरमा उपमेयर साहले टेम्पो व्यवसायी श्रीनारायण मण्डललाई क्यूआर कोड हस्तान्तरण गरी अभियानको थालनी गरेका थिए । डिजिटल इकोसिस्टमको अवधारणास्वरूप दैनिक जीवनमा गर्ने साना साना खर्चहरू, जस्तै– टेम्पो भाडा, मन्दिरमा भेटी, पानीपुरी, जुत्ता मर्मत, सरसामग्रीलगायत खरीदको भुक्तानी क्यूआर कोडबाटै गरेर अभियान थालिएको बैंकले जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंकको विद्युतीय माध्यममार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीतिअनुसार डिजिटल इकोसिस्टमको अवधारणालाई टेवा पुर्याउने उद्देश्यले कार्यक्रममा क्यूआर कोडसम्बन्धी प्रस्तुति गरिएको थियो । उपमेयर साहले सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियानको शुरुआत गर्न पाउँदा आफू उत्साहित भएको भन्दै नगदरहित कारोबार आजको आवश्यकता भइसकेको बताए । बैंकको सो अभियानले नोट छाप्नकै लागि विदेशिने ठूलो धनराशीको बचत हुने पनि उनको भनाइ थियो ।