काठमाडौं । नबिल बैंकले ‘नबिल बचत खाता’मा घातक रोगको बीमा कार्यक्रमलाई निरन्तरता दिएको छ । विगत ४ वर्षदेखि उक्त बीमा सुविधा दिँदै आएको बैंकले आगामी वर्षमा पनि निरन्तरता दिने भएको हो । यस्तो बीमा सुविधा लिने ग्राहकको संख्या उच्च रहेको बैंकले बताएको छ ।
बैंकका अनुसार हालसम्म ३३८ जना ग्राहकलाई ६२ करोड ९४ लाख रुपैयाँ दाबी भुक्तानी गरिएको छ । बचत खातामा घातक रोगको बीमा तथा आवधिक जीवन बीमा गरेकामध्ये उक्त संख्याका ग्राहकलाई दाबी भुक्तानी भएको बैंकको भनाइ छ ।
मेट लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा शुरू गरिएको उक्त योजना अन्तर्गत ४ वर्षमा १ अर्ब ६० करोड ७ लाख रुपैयाँ बराबरको बीमाशुल्क भुक्तानी गरिएको बताइएको छ । बैंकका अनुसार मुद्दतीबाहेक सबै प्रकारको बचत खातामा घातक रोग तथा आवधिक जीवन बीमा सुविधा छ ।