काठमाडौं । संघीय संसद् सचिवालयले सांसदहरूको शपथ ग्रहण कार्यक्रम यही पुस ७ गते राखेको छ । सांसदहरूको शपथको लागि नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तरराष्ट्रिय सम्मेलन केन्द्र (हालको संसद् भवन) लाई मर्मत तथा सजिसजाउ गरिँदै छ । देश हाँक्नेहरूले यही भवनमा कानुन र देश निर्माणका बहस गर्नेछन् ।
नयाँ बानेश्वरस्थित संसद् भवन वीरेन्द्र अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको भवन हो, संघीय संसद् सचिवालयकाे आफ्नै भवन भने होइन । २०६४ सालको संविधानसभाको चुनावअघि संसद् बैठक सिंहदरबारमा रहेको संसद् भवनबाट सञ्चालन हुने गर्थ्यो ।
पुरानो संसद् भवन ।
नेपालमा पहिलो पटक संविधानसभाको चुनाव २०६४ चैत २८ गते भएको थियो । उक्त निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरि ६०१ सांसद संविधानसभामा आएका थिए । ठूलो संख्यामा आएका सांसदलाई पुरानो संसद् भवनमा बैठक अपुग भएपछि नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको भवनलाई भाडामा लिएर संसद् सञ्चालन गरिएको थियो ।
२०६५ सालदेखि सचिवालयले यो भवनलाई भाडामा लिएको छ । भवन भाडामा प्रयोग गरेबाफत संसद् सचिवालयले अहिले वार्षिक १५ करोड रूपैयाँ तिर्दै आएको छ ।
दुईओटा संविधानसभासहित ३ ओटा संघीय संसद् यसै भवनबाट सञ्चालन भएको थियो भने गत मंसिर ४ मा सम्पन्न संघीय संसद्को निर्वाचनपछि बन्ने नयाँ संसद् सिंहदरबारभित्रै पुतली बगैंचामा निर्माणाधीन भवनमा सञ्चालन गर्ने लक्ष्य सरकारले राखेको थियो । तर, उक्त भवन समयमै निर्माण सम्पन्न हुन नसक्दा नयाँ बन्ने संसद्को बैठक पनि यही भवनबाट सञ्चालन हुँदैछ ।
सिंहदरबारभित्रै पुतली बगैंचामा निर्माणाधीन भवन ।
केही समयअगाडि नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले वीरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सिङ सेन्टर (बीआईसीसी) संसद् भवन तत्काल खाली गर्न सरकारसँग माग गरेका थिए । ऐरले काठमाडौंमा अन्तरराष्ट्रिय स्तरका मेला महोत्सव गर्नको लागि स्तरीय हलको आवश्यक रहेको भन्दै बीआईसीसी भवन संसद् बस्नको लागि नभइ अन्तरराष्ट्रिय प्रदर्शनी हल भएकाले तत्काल खाली गराउनुपर्ने बताएका थिए ।
यो संसद् बस्ने, सरकार चलाउने स्थान नभई अन्तरराष्ट्रिय प्रदर्शनी हल भएको र मेला महोत्सव तथा प्रदर्शनी गर्न चीन सरकारले दिइएको सम्पत्ति भएकाले जुन प्रयोजनका लागि दिइएको हो, त्यसैका लागि प्रयोगमा ल्याउनुपर्ने बताएका थिए । तर, अझै केही वर्ष यो भवन मेला, महोत्सव तथा प्रदर्शनीका लागि आउन भने नसक्ने भएको छ ।
वीरेन्द्र अन्तरराष्ट्रिय कन्भेन्सिङ सेन्टर (बीआईसीसी) ।
सिंहदरबार परिसरभित्र रहेको राणाकालीन 'ग्यालरी बैठक' ०७२ सालको विनासकारी भूकम्पले क्षतिग्रस्त भएको थियो । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पुरानो संसद् भवनलाई भत्काएर ‘स्टेट गेस्ट हाउस’ बनाउन सरकारलाई निर्देशन दिएको थियो । तर, सो भवनबारे सरकारले कुनै कदम चाल्न सकेको छैन । भूकम्पमा क्षतिग्रस्त उक्त भवन अहिले प्लाष्टिकले छोपेर राखिएको छ।
पुरानो संसद् भवन राणाकालीन ‘ग्यालरी बैठक’ का नामले चिनिन्छ । केहीअघिसम्म यो भवनको रेट्रोफिट गरेर संसद् संग्रहालय बनाउने चर्चा चलेको थियो । पुरातत्व विभागले पनि उक्त भवन नभत्काउन सुझाव दिएको थियो । राणाकालीन उक्त भवनमा ऐतिहासिक सरसमान, महत्त्वपूर्ण पेन्टिङ, ऐतिहासिक तस्वीर, फर्निचर आदि लथालिंग अवस्थामा छन् । प्रयोगविहीन अवस्थामा रहेको सिंहदरबारको संसद् भवन भने अहिले जीर्ण अवस्थामा छ ।
तस्वीरहरू : सुनिल शर्मा /आर्थिक अभियान