काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज आयोजित विशेष समारोहमा ज्येष्ठ सदस्यको हैसियतमा उहाँले सांसदहरुलाई शपथ गराउनुभएको हो ।
शपथ लिन नवनिर्वाचित सांसद राष्ट्रिय पोसाक तथा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा सजिएर संसद् भवन पुगेका थिए । संसद सचिवालयका अनुसार २६ जना सांसदले विभिन्न १४ मातृभाषामा शपथ लिएका छन् ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए । नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।
शपथअघि ज्येष्ठ सदस्य जबराले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बोलाएको बैठकमा संघीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले शपथ ग्रहणको प्रक्रियाका बारेमा जानकारी गराएका थिए ।
प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक प्रणालीबाट निर्वाचित ११० गरी कूल २७५ सांसद् छन् । बिहीवारको शपथग्रहरण समारोहमा भने २५८ जना मात्रै सांसद् उपस्थित भएको संसद् सचिवालयले बताएको छ ।
१७ जना सांसदहरू भने कोही निलम्बनमा परेका र कोही बिरामी भइ उपत्यका बाहिर तथा देश बाहिर रहेकाले शपथ ग्रहणमा भाल लिन सकेनन् ।
तस्वीरहरू : सुनिल शर्मा / आर्थिक अभियान