काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले संसद विघटन गर्दा सँगै सडकमा पुगेका नेताद्वय पुष्पकमल दाहाल र माधव नेपालको राजनीतिक यात्राको फरक मोड लिएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल ओली कै समर्थनमा प्रधानमन्त्रीमा नियुक्त हुनु भएको छ । नेपाली कांग्रेससँगको गठबन्धन छोडेर एमालेको शरणमा पुगेका दाहालले प्रधानमन्त्री उपहर पाउँदा एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) गठन गरेका माधव कुमार नेपाल भने घरका न घाटका भएका छन् ।
एमाले नेता सुवास नेम्वाङले समाजवादीलाई पनि सरकारमा ल्याउन पहल भइरहेको बताएका छन् । तर समाजवादीले भने अहिलेसम्म अब के गर्ने भन्ने नै निर्णय गर्न सकेको छैन ।
पार्टी सरकारमा नगए समाजवादी बाट जितेका सांसदहरू पार्टी परित्याग गरी अन्य दलमा जानसक्ने समाजवादीका नेताहरूले चिन्ता व्यक्त गरेका छन् ।
पछिल्लो विकसित घटनाक्रमलाई लिएर माधव नेपालको पार्टीले 'एक्कासि विकसित मुलुकको राजनीतिक परिस्थितिको अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरि ध्यानमा राखेर अगाडि बढ्ने' निर्णय गरेको छ ।
एकीकृत समाजवादीको आज बसेको केन्द्रीय सचिवालयको बैठकले पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई गम्भीरतापूर्वक छलफल गरी उक्त निर्णय गरेको महासचिव डा बेदुराम भुसालले जानकारी दिए ।
बैठक पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको थियो ।