एउटा दरबार के ढलेको थियो, धेरै दरबार जन्मिए । पहिला तरबारले चल्ने दरबार अहिले घरबार चलाउने माध्यम पो बनेको छ । अहिलेका दरबारमध्ये बलियो बालकोट दरबारबाट ठूल्ठूलो स्वरमा आवाज आइरहेको थियो, तर केही बुझिने र केही नबुझिने लवजमा । जे जति बुझ्न सकिन्थ्यो त्यो यस्तो थियो:
‘अब हाम्ले नै त हो देशमा राज गर्ने । छिट्टै नै हामी मिलीजुली–झिलीमिली सरकार बनाऔं र गरीबी घटाऔं । जनताको गरीबी हटाउनुअघि आफ्नै गरीबी हटाउनुपर्ने बाध्यता पनि छ । हुन त आफै गरीबीको रेखामुनि बसेर केही समय अघिसम्म सुखको स्वाद लिइरहेका थियौं ।
गरीबी हटाउन कम गाह्रो छ ? राजनीतिको भकुण्डो छलाउनुपर्छ, कतिको मन जलाउनुपर्छ, कतिको तन चलाउनुपर्छ । साँचो बोलेको भए सरकारको साँचो कहाँ हातमा आउँथ्यो र ? जीवनभर कुनै कर दिइएन, सृष्टिकर्ता वा सरकारले पनि कुनै घर दिएन । त्यसैले आफैले व्यवस्था गरेको महलमा बस्नुपरेको छ । तर कुर्सी नभई यत्तिकै बस्न पनि मनले धर दिएन ।’ शायद कुर्सी दिलाउने र कुर्सी पाउनेको प्रेमालाप चलिरहेको थियो ।
कुर्सी सार हो, कुर्सी मार हो, कहिलेकाहीँ कुर्सी ठूलो हार हो । कसैले संसारका लागि कुर्सी छाड्छन्, कसैले कुर्सीका लागि संसार छाड्छन् । त्यसैले यो संसारमा बेसार दलेर हुन्छ कि गंगाजल छर्केर कुर्सीप्रेममा सफल हुनैपर्छ । ‘कुर्सीको प्रेम विराट हुन्छ’ यो कुरा पहिलो र अन्तिम हुन्छ । यै विराट प्रेमका कारण कुर्सी भाइभतिजा, श्रीमतीवाद जस्ता वादहरूबाट ग्रसित हुन्छ । तर जब जंगलमा आगो लाग्छ, तब न त्यो रूख बच्छ, न त्यो बाँस बच्छन्, जो आपसमा रगडिएर आगोका झिल्का निकाल्न सक्थे । त्यसैले त १७ सिट जित्ने १७० बन्न पुग्छ । ८० सिट जित्ने खसी पर्छ ।
राजनीति पनि बजारवादमा नै चलेको देखिन्छ । हामीले के पढ्ने, के सोच्ने, के लाउने, के खाने सबै सबै कुराहरू कहीँ अन्तैबाट तय भइरहेको छ । कसलाई राजा बनाउने, कसलाई रंक, कसलाई सत्तामा लेराउने, कसलाई सत्तलमा पुर्याउने, कुन धर्मलाई स्थापित गर्ने, कुनलाई विस्थापित यो सबै पनि अरूले नै तय गर्छ, हामी हामीले गर्यौं भनेर मख्ख पर्छौं । बजारमा त्यही आउँछ, जुन उनीहरू चाहन्छन् । उपभोक्ताको चाहना अर्कै भए पनि उपभोग त्यही गर्न बाध्य हुन्छ, जुन उनीहरूले बजारमा पस्किन्छन् । मतदाता, करदाता वा जनताले चाहे अनुसार हुँदैन । त्यसैले त भूपि शेरचनले उहिल्यै लेखिसकेका थिए कि ‘हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने, कसैले मिलाइदिनुपर्ने । हामी आफूखुशी कहिल्यै अगाडि बढ्न नसक्ने, कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने... क्यारेम बोर्डका गोटी ।’
कुर्सीले सबै कुरा भुलाउँछ । उद्योग कसरी चलाउने, देशमा रोजगारी कसरी फलाउने, निर्यात कसरी बढाउने, शिक्षा र स्वास्थ्यमा कसरी सुधार ल्याउने भन्ने विषयमा कहिल्यै बहस भएको थाहा छैन । तर देशैभरि एकै खालको बेसुरा धुन बजिरहेको छ– कसले सरकार बनायो, अब कसले गिराउँछ वा को को मन्त्री बने, को को सन्त्री बने । सिट बाँडफाँटमा कुरा नमिलेर कसैको सत्ता र शक्ति जान्छ, कसैको त्यै कारणले सातो जान्छ ।
तर जनताका मूल समस्याका बारेमा कोही कुरा गर्दैनन्, न राजनीतिक दल, न सरकार, न त मिडिया नै । जो हिजो जनताका दुःख गरीबीका मुक्तिका लागि लडेका थिए, अहिले ती आइपुग्दा सिट बाँडफाँट, परिवार, कार्यकर्ताका लागि लडिरहेछन् । जजसले संविधान पढ्नुपर्ने थियो, उनीहरू हनुमान चालीसा पढ्नमा व्यस्त छन् । जनतालाई बल्झाउने, अल्झाउने र उल्झाउनेमा सरकार र कर्मचारीतन्त्र विश्वमै उत्कृष्ट छ । राजनीतिक शब्दकोष अनुसार आश्वासनको अर्थ छल हुन्छ, व्यवहारमा चाहिँ त्यही बल हुन्छ । त्यही बल अहिले बालकोटतिर पुगेको छ ।
अहिलेका दलहरूको ताल र कामकारबाही हेर्दा अझै पनि धेरै वर्ष केही हासिल हुनेवाला देखिन्न । किनभने सत्ता, भत्ता र कार्यकर्ताको जत्थाबाहेक अरू कुरा गरेको देखिँदैन, सुनिँदैन । हेर्नुस् त मन्त्रालयहरूमा लाग्ने गरेको उराठलाग्दो अनुत्पादक भीड । दलहरूको घोषणापत्रमा पनि अर्थतन्त्र उकास्ने खालका र जनतालाई सर्वसुलभ सेवा सुविधा दिने ठोस योजना केही समावेश छैन ।
तर जनतालाई लाग्छ कि नव–राजाहरूको चुनाव जनता आफैले नै गरेको हो । तर, वास्तवमा राजाहरूको छनोट त उत्तर, दक्षिण, पूर्व, पश्चिमकाले पो गर्छन् । जुन खेलौनामा उत्तर, दक्षिणकाहरूले चाबी भर्छन्, तिनै खेलौना नै मञ्चमा अभिनय गर्न आइपुग्छन् । उहिले विष्णुको अंश नभई राजा हुँदैन भन्थे, अहिले विदेशीको हंस नहुनेले कुर्सी पाउन्न । उहिले दूतहरू सन्देश दिन हुन्थे, अहिले तिनै दूतलाई कुत बुझाएर कुर्सी पाइन्छ । तर बिचरा प्रजाहरू, अझै आफू नै कर्ता हुँ (सार्वभौमसत्ता सम्पन्न) भन्ने भ्रममा छन् ।
देशमा विदेशका मदिरा, मल, बीउ मात्र बिक्दैनन्, विचार, वाद, धर्म, संस्कृति जस्ता कुराहरू झन् धेरै विक्री हुन थालेका छन् । समाज कता गइरहेको छ भन्ने हेर्न, सोच र सूक्ष्म आँखा चाहिन्छ । तर, अहिलेका नेपाली बुद्धिजीवी, प्राध्यापक, पत्रकारहरूको त्यो सूक्ष्म आँखामा चम्चाबाहेक केही देखिन्न ।
हो, गुणस्तर जे जस्तो भए पनि देशमा कतिपय कुना कन्दरामा केही सडकहरू बनेका छन् । त्यसैले आफूले नै देशमा विकासको बीउ रोपेको दाबी गर्न कुनै साना–ठूला नेता चुक्तैनन् । सडक बनेको देख्छन्, तर त्यै सडक हुँदै जनता परमधाम गइरहेका र देशभरिका युवा अर्बौं विदेशी मुद्रा खर्चेर विदेशका गल्ली गल्ली चहारिरहेका कोही देख्दैनन् । सडकले गाउँमा सामान ल्याउँछ, गाउँबाट शहरमा मान्छे मात्र ओसार्छ । कस्तो विकासको सडकमा दौडिरहेका छौं हामी हँ ?
साँझतिर म प्रधानमन्त्री निवासको सडक हुँदै गइरहेको थिएँ । बाहिर र भित्र दुवैतिर अँध्यारो थियो र सन्नाटा छाएको थियो । बाहिर दुई सुरक्षा गार्ड आपसमा गफ गर्दै थिए ।
पहिलो गार्ड :हैन, भित्र बाहिरै किन यति धेरै अन्धकार, हेर त ।
दोस्रो गार्ड :सबैतिर यति धेरै अँध्यारो भएपछि कहाँ र कसरी हेर्न सकिन्छ र ?
यो सुनेपछि मैले यसो हेरेँ । हिजोअस्ति झलमल्ल र चकाचक भएको ठाउँमा त पूरै अन्धकार पो छ त । मनमनै सोचेँ, ‘नव–राजाको दरबारमा त यति धेरै अँध्यारो छ भने प्रजाहरूले उज्यालो कसरी देख्न पाउँछन् र ?