ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सीएनएनको २०२३ मा घुम्नै पर्ने विश्वका उत्कृष्ट २३ स्थानमा समेटियो 'मुस्ताङ'

२०७९ पुस, १८  
समाचार र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी

काठमाडौं (अस) । झन्डै तीन वर्ष कोरोना भाइरसको महामारीका कारण ठप्प भएको सीमा र अन्तरराष्ट्रिय यात्राका अवरोधहरु विस्तारै खुलिरहेका छन् । चीन, जापानसहित महामारी नियन्त्रण गर्न सीमा ठप्प पारेका देशहरूले पनि क्रमशः प्रतिबन्धहरू हटाइसकेका वा खुकुलो बनाइरहेका छन् । कयौं महीनासम्म देशभित्रै खुम्चिनु परेका ठूलो संख्यामा मानिसहरू विदेश आवतजावत गर्न थालिसके । 

कोभिडका कारण तपाईंको पनि घुमफिरका कति योजना थाँती रहे होलान् । विश्वका यो यो देशमा जान्छु, नेपालमै पनि यो यो ठाउँमा घुम्छु भनेर बुनेका सपना अनि सजाएका रहरहरू कोभिडका कारण पछाडि धकेलिए होलान् । मानिसहरूले विस्तारै कोभिडसँगै बाँच्न थालेसँगै जनजीवन सामान्य अवस्थामा फर्किएको छ । 

गएको वर्षको अन्त्यसम्ममा अन्तरराट्रिय पयर्टन कोभिडको महामारी शुरू हुनु अघिको भन्दा ६५ प्रतिशत आसपास पुगेको हुन सक्ने अनुमान संयुुक्त राष्ट्र संघको विश्व पयर्टन संगठनको छ । केही क्षेत्रमा पयर्टन सन् २०१९ को तुलनामा ८०/९० प्रतिशतको हाराहारीमा पुगिसकेको तथ्यांक सार्वजनिक भएका छन् । 

चीन, जापान समेत विश्वका केही देशहरुमा कोभिडको महामारी विष्फोटक रुपले बढिरहेको भएपनि अन्तरराष्ट्रिय यात्रामा निरन्तर सुधार हुने आशा विज्ञहरुले गरिरहेका छन् । भर्खरै नयाँ वर्ष शुरु भएको छ । यस्तोमा तपाईंको पनि कतै घुमफिरको योजना छ कि ?  

नेपाललाई केही केहीले स्वर्गको टुक्रा पनि भन्छन् । आफ्नो देश आफूलाई स्वर्ग झैं लाग्ने भइहाल्यो । नेपाल घुम्न आउने केही विदेशी बारम्बार यहाँको सुन्दरता हेर्न आइरहन्छन् । तपाईं नेपालको कुन कुनठाउँ घुम्न जानु भएको छ ?

अमेरिकी समाचार च्यानल CNNले भर्खरै यस वर्ष घुम्नै पर्ने विश्वका २३ स्थानको सूची निकालेको छ । यो सूचीमा हाम्रो नेपालको मुस्ताङ उपत्यकालाई पनि राखिएको छ । सूचीमा सूचिकृत सबै स्थानको सानो परिचय पनि दिइएको छ । ‘हिमालय र भारतबीचको व्यापारलाई सहज बनाउन प्राचिन ट्रेलहरूबाट हिमाल पदयात्राका लागि प्रसिद्ध नेपालको अचम्मको मुस्ताङ उपत्यका तिब्बतको द्वारमा रहेको छ ।’ मुस्ताङको वर्णन गर्दै भनिएको छ । चाँडै खुल्न लागेको शिन्ता मणी मुस्ताङका कारण पनि आगामी महीनाहरूमा यो दूर्गम गन्तव्यबारे धेरै कुरा सुन्न पाइने आशा गरिएको छ  ।

मुस्ताङ पदयात्राका लागि त प्रख्यात छ नै । यहाँ घुम्न आउने पर्यटकहरूले प्राचिन गाउँहरू र बौद्ध गुम्बाहरू ‘एक्सप्लोर’ गर्न सक्ने सीएनएनले भनेको छ । ठिक गन्डकी नदी माथि रहेको मानव निर्मित गुफा २ हजार वर्ष पुराना बौद्ध मूर्तिकला र चित्रहरूले भरिएका छन् । मुस्ताङ आउँदै गर्दा यो पनि छुटाउन नहुने सीएनएनले बताएको छ ।

मुस्ताङ उपत्यका पुग्नु साहसीक अनि रोमाञ्चक कार्य हो । राजधानी काठमाडौंबाट पोखराको लागि २५ मिनेटको उडान र त्यसपछि अर्को २० मिनेटको उडानमा जोमसोमको यात्रा गरेर पनि यात्रीहरूले मुस्ताङ जान सक्नेछन् । बसमा यात्रा गर्न चाहने भने काठमाडौंबाट १२ घन्टाको यात्रामा मनोरम अनि सुन्दर दृश्यहरू हेर्दै गन्तव्यमा पुग्न सक्नेछन् । 

सूचीमा पोल्यान्ड, पश्चिम अष्ट्रेलिया, बेलायतको लिभरपुल, साउथ क्यारोलिनाको चार्लेस्टन, लिथुआनियाको भिलनियस, फिजी, ब्राजिलको मानाउस पनि परेको छ । सूचीमा रहेको अन्य घुम्नै पर्ने ठाउँमा ग्रिसको थेसालोनिकी, रुवान्डा, स्वीडेनको गोथेनबर्ग, यूएईको रास अल–खाइमाह, लाओस, स्वीटजरल्यान्डको ग्रुयर्स, मिनेसोटाको मिनिआपोलिस, कोलम्बिया बोगाटा, तान्जानिया, इजिप्टको कायरो, जापानको नाओशिमा, बेलिज, मेक्सिकोको ओआसाका, क्यानडाको ओट्टावा, युगन्डा पनि सूचीमा समेटिएको छ । एजेन्सीको सहयोगमा

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)