सरकार फेरिएपिच्छे बालुवाटार दरबार र सिंहदरबारमा दर्शनाभिलाषीको घुइँचो लाग्छ । अहिले पनि फूलका गुच्छा लिएर नयाँ मन्त्री, प्रधानमन्त्रीलाई भेट्न सिंहदरबारमा हूलका हूल जानेको भीड बढ्दो छ । अझ गृहमन्त्रीले त सबै सर्वसाधारणलाई पनि सिंहदरबारभित्र सहज प्रवेश गराउने घोषणा गरिसक्या छन् क्यारे ! यसले भीड अझ बढ्ने नै छ । सिंहदरबारभित्र गएर आफ्ना प्यारा शासकहरूसँग आफ्ना दु:खको पोका पनि फुकाउन पाइने, ताल मिले पर्साद पनि पाइने र अझ नेतासँगै उभिएको फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट्याउन समेत पाइयो भने त त्यही देखाएर पनि कत्ति काम त तमाम गर्न सकिन्छ ।
सक्नुहुन्छ भने नेताजीका भान्छाभित्रै पुग्नुस् । अनि विभिन्न योजनाका तानाबाना सुनाउनुस्, कागजी फाइदा र परिवर्तनको कथा बुन्नुस् । अनि खातामा दक्षिणा–सक्षिणा पनि थमाइहाल्नुस् । काम बन्न बेरै लाग्दैन ।
अँ, तपाईंलाई काम नगरी तलब पाइने जागीर चाहिया छ ? सीधै भनुँ न, सरकारी जागीर खाने हो ? अथवा बढुवा चाहियो कि मालदार अड्डामा सरुवा चाहियो ? कि तपाईंको हाकिमसँग खटपट छ ? त्यो हाकिमलाई ठेगान लाउनुपर्यो ? चिन्तै नलिनुस् न । बस्, तपाईंको लाइनको मन्त्री वा नेताजीलाई भेट्नुस् । तपाईंले गर्न खोजेको काम तमाम । अनि नेताजी भेट्ने सबैभन्दा उत्तम थलो त सिंहदरबार नै हो । सिंहकै दरबार गएपछि घरबार त बनिहाल्छ ।
कि तपाईं ठेक्कापट्टाको काम गर्नुहुन्छ ? टेन्डर फारम भर्नुस् र त्यो नम्बर लिएर नेताजीकोमा जानुस्, तपाईंले टेन्डर पाइहाल्नु हुन्छ । त्यसका लागि विज्ञता, अनुभव सनुभवको पनि चिन्ता नलिनुस् । टेन्डरको सूचना निकाल्दैमा तपाईंलाई कसरी पार्ने भनेर ठ्याक्क मिल्ने खालका प्रावधान राखेरै ठेक्काको विज्ञापन समेत बन्छ । तपाईंले केवल एउटा सानो काम गरे पुग्छ । बुझिहाल्नु भो नि । हो, ठेक्काबापत पाउने रकमको २० प्रतिशत नेताजीलाई बुझाउनुपर्छ । हेर्नुस्, पार्टी पनि त चलाउनुपर्यो, नीतिनियम पनि छलाउनुपर्यो । डीजी, इञ्जिनीयर लगायतका मुखमा बुझो पनि लाउनैपर्यो । यसो देश र जनताको भलो पनि भन्नैपर्यो, कम्ता गाह्रो हुन्छ उहाँहरूलाई काम गर्न ? अनि तपाईंले त्यसमा सघाउनैपर्यो नि, होइन ?
अँ, सक्नुहुन्छ भने नेताजीका भान्छाभित्रै पुग्नुस् । अनि विभिन्न योजनाका तानाबाना सुनाउनुस्, कागजी फाइदा र परिवर्तनको कथा बुन्नुस् । अनि खातामा दक्षिणा–सक्षिणा पनि थमाइहाल्नुस् । काम बन्न बेरै लाग्दैन । पहिले अरूले गरेका कामबाट पनि केही सिक्नुस् । जस्तै, मुलुकका सबै समस्या छुमन्तर गर्ने भनेर नागरिक एपको प्रिजेन्टेशन बन्यो । बस, कमिसनको कुरा क्लियर भएपछि योजना पास । पैसा हात पारेपछि सबै नाश । कुनै बेला रेडियो टीभीले वारम्बार बखान गर्ने यो एपबाट अचेल कतै केही भएको सुन्नुभाछ ? दुई–चार अर्ब झ्वाम पार्न कति सजिलो हुन्छ, देख्नुभो ?
यसरी कतै आवश्यक नै नभएका सामान सरकारलाई भिडाएर आफू दाम कमाउने उपाय कति छन् कति । त्यस्तो सामान खरीद गर्ने खालका टेन्डर आह्वान गर्नुभन्दा पहिले त कुनै अफिसमा ती सामानको आवश्यकता सृजना गर्नुपर्यो । अनि न टेन्डर हाल्ने कुरा हुन्छ । अनि त्यो सामान लिएपछि पनि थप कति मेहनत गर्नुपर्छ कति ? हेर्नुस् त, सुरक्षण मुद्रण केन्द्रमा गतवर्ष दुई–दुईओटा झन्डै ७४ करोड रुपैयाँको सेक्युरिटी प्रेस किनेर ल्याएको । चलाउने त उद्देश्य थिएन नै । चाहिएको पनि थिएन होला । त्यसको आवश्यकता सृजना गर्न, टेन्डर हाल्न, त्यो टेन्डर आफ्नैलाई पार्न, प्रेस खरीद गरेर ल्याउन र प्लाष्टिकले छोपेर राख्न कति मेहनत पर्यो होला ? नेताजीको आशिर्वाद प्राप्त नगरी यस्ता काम सफलतापूर्वक गर्न सकिन्छ र ? सकिन्न नि ।
हेर्नुस्, हाम्रो समाजका हरेक ठाउँमा नेताजीहरूको आशिर्वाद चाहिने नै हुन्छ । कुनै कुरामा कोटा परमिट पाउन होस् वा कसैलाई कतै सरुवा वा बढुवा गर्न । तपाईं अस्पताल जानुस्, खासगरी सरकारी, त्यहीँ तपाईंलाई भर्ना गर्न वा नि:शुल्क औषधि उपचार पाउन नेताजीको मद्दत चाहिन्छ नै । तपाईं पुलिस थानामा कुनै रिपोर्ट लेखाउन जानुहुन्छ भने त्यहाँ पनि नेताको सहयोग चाहिन्छ चाहिन्छ । तपाईंलाई कसैले सडकमा गाडीले धक्का दियो, नेता खोज्नुभएन भने उल्टै तपाईंलाई दोषी बनाएर पैसा तिराउन बेर छैन । नेता नभए तपाईंको गाडीलाई हानेर उल्टै तपाईंले हानेको सर्जमिन बनाइदिन सक्छन् ।
यसरी हरेक ठाउँमा, हरेक गाउँमा, हरेक रहरमा, हरेक शहरमा नेताजीको तोक, आदेश र सहयोगविना तपाईंको कामै बन्दैन । त्यसैले समयमै कुनै न कुनै नेताको फेर समाउनुस् । नेताजीलाई आफ्नो बनाउनुस् । अर्थात् नेताजीलाई किन्नुस् । कुनै अलि राम्रो दल नामक कम्पनीको नेता किन्नु फाइदाजनक हुन्छ । आखिर दलहरू, नेताहरू पनि त पब्लिक लिमिटेड कम्पनीजस्तै हुन् । भोलि शेयर जस्तै नेताका नामका पनि आईपीओ खुल्लान् । अहिले अलि सस्तो हुँदैमा नेता किनेर राखिहाल्नु भो भने तपाईंको भविष्य पनि त सुरक्षित होला । पछि फेरि बुक बिल्डिङमा नेताको मूल्य चुकाउनुपर्यो भने महँगो पर्ला है !
नेता किन्ने तरीका पनि फरक फरक छन् है । मार्सीसार्सीको भोज ख्वाएर पनि नेता किन्न सकिन्छ । अर्को, दुई–चार सय लाठे खोज्नुस् र नेताको गाडी सवारी हुँदा मोटरसाइकलले स्कर्टिङ गर्ने प्रहसन गर्नुस्, नेता पक्का तपाईंका दाहिना । चुनाव खर्च दिएर मात्रै नेता किन्ने जमाना त गए । चन्दा दिएर टिकट लिएर चुनावमै जाने धन्दा पनि छ हो अचेल त । नेता किन्न सक्नुभएन भने चिन्न मात्र सकेको पनि काम लाग्छ । हुन त चिनेको भन्दा किनेको नै पक्का हुन्छ ।
कुनै नेता तपाईंको पकेटमा हुनेबित्तिकै तपाईंलाई कसैले छुन पनि सक्तैन । मानिसहरू आफ्ना सुरक्षाका लागि कुकुर पाल्छन् । सुरक्षा गार्ड पाल्छन् । तपाईं नेता पाल्नुस् । कुनै एउटा गतिलो, खाइलाग्दो, भन्या लाग्ने खालको नेता छान्नुस् पाल्न र खरीद गर्नुस् । अहिले त नेताहरूको बजार शुरू पनि भइसकेको छ । यो बजार चौबीसै घण्टा खुल्लै हुन्छ । बरु छिटो गइहाल्नोस् आफ्नो पकेट साइज अनुसारको नेता खरीद गरिहाल्नोस् । शेयर बजारको फाइदा लिन २० वर्ष कुर्नुपर्छ भन्थे बफेट बाले, नेतामा गरेको लगानीले त बीसै दिनमा हातहातै फाइदा दिन्छ । त्यसैले उद्योग छाड्नुस्, नेतातिर लगानी बढाउनुस् ।