काठमाडौं । गत बिहीवारअघिसम्म अस्तव्यस्त थियो काठमाडौंको दरवारमार्ग सडक । बेलाबेला हुने सवारी जाम र ट्याँट्याँ–टुँटुले गाडी चालक र यात्रु मात्रै होइनन्, त्यहाँका व्यापारी पनि हैरान थिए । कारण थियो– सडकको दायाँबायाँ गाडी पार्किङ ।
तर, बिहीवारयता गाडी चालकले यस्तो सास्ती भोग्नुपरेको छैन । पैदल यात्रुले पनि सकसबाट मुक्ति पाएका छन् । काठमाडौं महानगरपालिकाले उक्त क्षेत्रमा पार्किङ हटाएपछि दरवारमार्ग सडक खुला भएको हो ।
पार्किङले सडकमा गाडी ओहोरदोहोरमा समस्या देखिएपछि हटाइएको महानगरपालिकाले जनाएको छ । ‘अब दरबारमार्ग क्षेत्रमा गाडी ओहोरदोहोर सहज भएको छ,’ महानगरका एक कर्मचारीले भने ।
यसबाट यात्रुसँगै सो सडक हुँदै यात्रा गर्ने चालकलाई सहज भएको महानगरको दाबी छ । तर, पार्किङ हटाएपछि स्थानीय व्यापारीले विरोध जनाएका छन् । महानगरले वैकल्पिक व्यवस्था नगरी गाडी र मोटरसाइकल पार्किङ हटाएको व्यापारीहरूको आरोप छ । ‘महानगरका कारण हामीलाई पार्किङको समस्या भएको छ । अब पार्किङ गर्न कहाँ जाने ?’ एक व्यापारीले प्रश्न गरे ।
दरवारमार्गका केही व्यापारीहरू आइतवार गाडी पार्किङका लागि होटल अन्नपूर्ण परिसर जाँदै गरेको देखिन्थे । मोटरसाइकल पार्किङ गर्नका लागि कमलादी जानुपरेको व्यापारीको दुखेसो छ ।
राजतन्त्रकालमा समेत नहटेको पार्किङ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले हटाएपछि गाडीचालक र यात्रु खुसी भएका छन् । सो क्षेत्रमा राजतन्त्रकालदेखि पार्किङ हुने गरेको थियो । त्यतिबेला राजाको सवारी हुँदा मात्रै पार्किङ हटाइने गरेको स्थानीय बताउँछन् ।
काठमाडौं महानगरपालिकाले भने २०७५ सालपछि शुल्क लिएर पार्किङको अनुमति दिएको थियो ।