काठमाडौं । एनआईसी एशिया बैंकले १० स्थानमा क्यास डिपोजिट मेशिन (सीडीएम) सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको न्यूरोडस्थित विशाल बजार शाखा, कमलादी शाखा, खिचापोखरी शाखा, त्रिपुरेश्वर शाखा र रजिष्टर्ड अफिस (थापाथली) शाखामा सीडीएम सञ्चालनमा ल्याएको छ । त्यस्तै रूपन्देहीको बुटवल शाखा, कास्कीको पोखरास्थित महेन्द्रपुल शाखा, कैलालीको धनगढी चौराहा शाखा, मोरङको विराटनगर शाखा र पर्सास्थित वीरगञ्ज शाखामा सीडीएम सञ्चालनमा ल्याएको हो । क्यास डिपोजिट मेशिनबाट नगद जम्मा गर्न फारम नभरी खाता र मोबाइल नम्बरका आधारमा सीधै आफ्नो तथा अन्य व्यक्तिको खातामा रकम जम्मा गर्न सकिने बैंकले जानकारी दिएको छ ।
खाता नम्बर र मोबाइल नम्बरको आधारमा नगद रकम जम्मा गर्न सकिने यस मेशिनमा रू. ५०० र रू. १ हजारका नोट गरी एकपटकमा बढीमा रू. ९९ हजार ५०० र दैनिक बढीमा रू. ९ लाख ९९ हजार ५०० सम्म जम्मा गर्न सकिनेछ । रकम जम्मा गर्ने प्रक्रिया थप सुरक्षित बनाउने बैंकको उद्देश्यअनुसार बचतकर्ताले उक्त मेशिनमा आफ्नो मोबाइल नम्बर उल्लेख गरेपछि निजको मोबाइलमा ओटीपी कोड प्राप्त हुनेछ । बचतकर्ताले उक्त कोड क्यास डिपोजिट मेशिनमा उल्लेख गरेपछि मात्र क्यास डिपोजिटको काम अगाडि बढ्नेछ ।