काठमाडौं । बहुराष्ट्रिय कर्जादाता निकाय विश्व बैंकले विश्व अर्थतन्त्रको वृद्धि प्रक्षेपण घटाएको छ ।
बैंकका अनुसार यस वर्ष विश्व अर्थतन्त्र १ दशमलव ७ प्रतिशतले मात्रै बढ्नेछ । यो वृद्धि तीन दशकयताकै सबैभन्दा कमजोर हुनेछ । यस अघि बैंकको अनुमान भन्दा यो १ दशमलव ३ प्रतिशत अंक कम हो ।
महँगी नियन्त्रण गर्न विश्वका कयौं केन्द्रीय बैंकहरुले मौद्रिक नीति कसिलो पारिरहेको अनि युक्रेनमाथि रुसको आक्रमण जारी रहँदा पनि वृद्धिको सम्भावना धूमिल बनेको बताइएको छ ।
पछिल्लो समय अमेरिका, यूरोजोन र चीन सबैमा कमी देखिएको छ । उच्च महँगी, महँगी नियन्त्रण गर्न आक्रामक ब्याजदर वृद्धि र चीन, जापानलगायत कयौं देशमा कोरोना भाइरसको संक्रमण बल्झिएको अवस्थामा विश्व अर्थतन्त्र मन्दीमा धकेलिने भय बढेको बैंकले भनेको छ ।
महामारीका कारण देखिएको मन्दीबाट उब्रिएको तीन वर्षमै विश्वव्यापी आर्थिक वृद्धिदर मन्दीमा फस्ने अति नजिक पुगेको छ ।
विश्वको अधिकांश क्षेत्रमा प्रति व्यक्ति आम्दानी खुम्चिनुलाई बैंकले मन्दी भनेको छ । मानिसहरुको आम्दानी वृद्धि कोभिड–१९ अघिको दशकको तुलनामा सुस्त हुने बैंकको 'विश्वको आर्थिक सम्भावना' शीर्षकको अर्धवार्षिक प्रतिवेदन भनिएको छ ।
२०२४ मा भने विश्वको आर्थिक वृद्धिदर पुनःबहाल भएर २ दशमलव ७ प्रतिशतमा पुग्ने बताइएको छ । यो यस अघि जुनमा गरिएको प्रक्षेपणको भन्दा शून्य दशमलव ३ प्रतिशत कम हुनेछ ।
वृद्धिदरमा व्यापक कमी सर्वत्र रहने बताइएको छ । लगभग सबै विकसित अर्थतन्त्र र दुई तिहाई उदीयमान र विकासशिल अर्थतन्त्रको वृद्धिदर २०२३ मा घट्ने अनुमान गरिएको छ । २०२४ मा भने झन्डै आधा देशहरुको वृद्धिदर घट्ने बताइएको छ । अमेरिकामा आर्थिक वृद्धिदर शून्य दशमलव ५ प्रतिशतलमा सीमित हुने अनुमान गरिएको छ । यो यस अघिको अनुमान भन्दा १ दशमलव ९ प्रतिशत अंक कम हो ।
खाद्यान्न र ऊर्जा मूल्य नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंकले ४० वर्षभन्दा बढी समययताकै तीव्र दरमा मौद्रिक नीति कसिलो पारिरहेको छ । चीनको आर्थिक गतिविधि २०२२ मा खराब बनेको थियो । कोभिड विरुद्धको शून्य शहनशिलताको नीति र अभूतपूर्व सुख्खाका कारण गएको वर्ष वृद्धिदर सुस्तायो । चीनले कोभिडको नियन्त्रण हटाएपछि उपभोक्ता खर्च बढ्न थालेको छ । यस्तोमा यो वर्ष चीनको अर्थतन्त्र ४ दशमलव ३ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ ।
यो जुनको तुलनामा शून्य दशमलव ९ प्रतिशत अंक कम हो । जापानको वृद्धि प्रक्षेपण पनि शून्य दशमलव ३ प्रतिशत अंकले घटाएर १ प्रतिशतमा झारिएको छ । अन्य विकसित अर्थतन्त्रको साथमा जापानी अर्थतन्त्र पनि सुस्ताउने बैंकको भनाइ छ ।
युक्रेनी युद्धका कारण ऊर्जा आपूर्तिमा जारी अवरोध र मौद्रिक नीति कसिलो हुने सम्भावनाबीच यूरो क्षेत्रको यो वर्ष वृद्धिदर शून्य हुनेछ । यस अघिको भन्दा यो १ दशमलव ९ प्रतिशत अंक कम हो । २०२४ मा भने यो क्षेत्र १ दशमलव ६ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
यो वर्ष विश्वको व्यापार आयतन १ दशमलव ६ प्रतिशतले बढ्ने बैंकको अनुमान छ । २०२१ र २०२२ मा यो क्रमशः १० दशमलव ६ प्रतिशत र ४ प्रतिशतले बढेको थियो । महँगी र नीतिगत ‘मिसस्टेप’ले बढ्ने जोखिमका कारण केन्द्रीय बैंकहरुले अहिले अनुमान गरिएको भन्दा बढी ब्याजदर बढाउनु पर्ने हुन सक्ने चेतावनी बैंकले दिएको छ । एजेन्सी