ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैंकहरूको बिहे !

२०७९ पुस, २९  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary
author avatar मदन लम्साल

कुनै बेलाका बडामहाराज पृथ्वीनारायण शाहले नेपालको भौगोलिक मात्र हैन, नेपालीहरूको मानसिक एकीकरण पनि गरेका थिए, सांंस्कृतिक एकीकरण पनि गरेका थिए । कसले भन्यो भन्नुहोला, सरकारले नै भनिसक्यो नि । सरकारले बल्ल यो बुझेछ र सार्वजनिक छुट्टी दियोे । तर संयोग पनि गजबको । एकातिर राष्ट्रिय एकीकरण दिवस मनाइँदै गर्दा उता संसद्मा सबै दलले मिलेर पुष्पकमललाई प्रचण्ड बहुमत दिए, र यता नेपालको बैंकिङ इतिहासमा पनि सबैभन्दा ठूला बैंकहरूबीच एकीकरण भएर वा लगनगाँठोमा बाँधिएर प्रचण्ड आकारका भए । यो प्रचण्ड तापमा को को जल्ने हुन्, को को फल्ने हुन् समयले बताउला ।

अहिलेसम्म धेरै लगनगाँठो जोड्ने चाहिँ ग्लोबल बैंक रहेछ । मान्छे भएको भए बहुविवाहको मुद्दा लागिसक्थ्यो होला । यहाँ त बैंकहरूको बाउ अर्थात् राष्ट्र बैंक (राबै) स्वयंले नै बैंकहरूलाई धेरैभन्दा धेरैलाई बिहे गर्न उक्साइरहेको छ ।

बिहे मानिसको मात्र हैन, कहिलेकाहीँ कृत्रिम मानिसको पनि हुन्छ । हाम्रो परम्परा अनुसार फागुन, मङ्सिर, वैशाख वा असार जस्ता महीनामा बिहे गर्नुलाई बढी राम्रो मानिन्छ । पुसमा बिहे वर्जित छ । तर, कृत्रिम व्यक्ति अर्थात् कानूनी व्यक्तिको बिहे धुमधामसँग भइरहेको छ, त्यो पनि पुसमा । यो शुभ भयो कि अशुभ त्यो ज्योतिषीहरूले नै भन्लान् ।

त्यसो त लगनगाँठो जोड्न ठिक्क परेका धेरैओटा बैंकहरूको बिहे अन्तिम समयमा आएर टुटेका पनि थिए । साइत नमिलेकोले हो कि साइज नमिलेकोले हो । मान्छेको जस्तै कम्पनीको पनि साइत मिल्नुपर्दो रहेछ क्यार ! लगनगाँठो जोड्न प्रस्ताव आउँदा नखरा गरेको ठूलो बैंकले साना बैंकलाई फेरि किस्तीसहित प्रस्ताव लिएर जानुपरेको पनि यही भएर हो कि ?  

विवाहपछि महिलाको थर गोत्र बदलिए झैं बैंकको बिहेपछि पनि थर गोत्र परिवर्तन हुने नै भए । तर यसमा केही फरक भने छ । पोइल जाने र जोइल जाने दुवै भएपछि कसका भागमा के थर पर्ने हो त्यसको थिति भने अर्कै छ । कुमारी बैंक एनसीसीसँग बिहे गरेर पनि कुमारी नै रहेको छ भने इन्भेष्टमेण्टले बिहे गरेर मेगा थर थपेको छ । लामो इतिहास बोकेको बीओके त्यति ओके रहेनछ । त्यसैले बीओके ग्लोबलमा समाहित हुन पुग्यो । त्यस्तै, सय वर्षमा इतिहास बनाउँछौं भन्ने सेञ्चुरी त सेन्चुरीको क्वार्टरसम्म पनि एक्लै बस्न सकेन, नामै बिर्सेर प्रभुको शरणमा पुग्यो ।

सबैको घरजम बलियो देखेर हो कि लक्ष्मी र सन्राइजले पनि टिकोटालो गरिसके । एभरेष्ट पनि रेस्टतिर जाने हो कि ? बजारमा त थरी थरी हल्ला चलिरहन्छन् । फलानोको फलानोसँग इलु इलु चलिराछ रे, लेनदेनमा अलिक कुरा मिलेन रे । अनि कोही चाहिँ औंठी साटेर पनि लास्टमा धोका दिन सक्ने रछन् । धन्न सबैको बाउ राष्ट्र बैंक अलिक कडा परेछ । धोका दिन खोज्नेलाई कारबाहीको डण्डा पेल्दो रछ । नत्र कत्तिको पहिल्यै पारपाचुके हुन्थ्यो ।

केटाकेटीबीच बिहे टुट्दा कतिपयले आत्महत्या गर्छन् । धन्न बैंकहरूको बिहे टुट्दा कसैले त्यसो गरेको सुनिएको छैन । कुनै बैंक भने आफ्नो बिहेको कुरा समयमै सार्वजनिक पनि गर्दैनन् । बोनस लाभांश घोषणा गर्छन् । तर साधारणसभा आह््वान गर्दैनन् । किनकि बिहेको कुरा पहिल्यै सार्वजनिक गर्दा बिहे भाँडिने खतरा पनि त्यत्तिकै हुन्छ । तर एकै समूहको प्रवर्द्धक भएका संस्थाहरूकोे बिहे भाँडिने खतरा भने नहुने रहेछ ।

हिजोआज त सजातीय मात्र हैन, विजातीय विवाह पनि समाजमा स्वीकृत छ । त्यसैले ‘क’ वर्गको बैंकले ‘ख’ वर्गसँग वा ‘ग’ वर्गको फाइनान्ससँग बिहे भएका र घरजम पनि राम्रै चलेका उदाहरण पनि प्रशस्तै छन् । तल्लो वर्गकाले माथिल्लो वर्गकोलाई आफ्नो बनाएको उदाहरण पनि छ । अझ भौगोलिक हिसाबले एक अर्काबाट धेरै टाढा भएका बैंकहरूको पनि बिहेवारी भएका छन् । ताप्लेजुङमा पर्ने कावेली नदी सप्तकोशीमा मिसिएजस्तै धनकुटामा रहेको कावेली विकास बैंकले मोरङमा रहेको सप्तकोशी विकास बैंकसँग लगनगाँठो कसेको सम्झनुस् त !

अहिलेसम्म धेरै लगनगाँठो जोड्ने चाहिँ ग्लोबल बैंक रहेछ । मान्छे भएको भए बहुविवाहको मुद्दा लागिसक्थ्यो होला । यहाँ त बैंकहरूको बाउ अर्थात् राष्ट्र बैंक (राबै) स्वयंले नै बैंकहरूलाई धेरैभन्दा धेरैलाई बिहे गर्न उक्साइरहेको छ । अहिलेसम्म ग्लोबलले त साना ठूला गरी झन्डै डेढ दर्जन बैंक तथा वित्तीय संस्थालाई भित्र्याइसकेको छ ।  

कतिपय बैंकले बिहे गर्ने भनेर सम्झौता चैं गर्ने, तर समयमा कुरा नछिन्ने गरेकाले उनीहरूको शेयर कारोबार रोक्का हुँदा कैयौं सर्वसाधारण शेयरधनीलाई ‘बेसहारा’ बनाएका उदाहरण पनि रहेछन् । त्यस्तै, मर्जरमा गएका बैंकमा कार्यरत कर्मचारीहरूलाई स्वैच्छिक अवकाशको बाटोमा जान विभिन्न अप्रत्यक्ष दबाब दिने एवम् सम्झौताको आधारको अवकाशलाई उजागर गरेर कर्मचारीलाई बिदाइ गर्ने हतारो देखिएको छ भन्ने आरोप पनि बैंक व्यवस्थापनलाई छ । बैंक व्यवस्थापनलाई पनि दुई वा बढी संंस्थाहरूबाट फरक फरक काम गर्ने शैली र फरक संस्कृति लिएर आएका कर्मचारीहरूलाई कसरी एउटै संस्कृतिमा ढाल्ने भन्ने चिन्ता छ । फरक घर परिवेशकी दुलही भित्र्याएपछि उनलाई नयाँ घरमा घुलमिल गराउन त समय लाग्छ नि हो !

बैंक तथा वित्तीय संस्थाको संख्यात्मक वृद्धि मात्र भएको तर गुणात्मक वृद्धि हुन नसकेकाले राबैले गाभिन वा प्राप्ति गर्न निर्देशन दिएपछि उनीहरूबीच बिहेको लहर फेरि चलेको हो । यो मागी बिहे र भागी (गन्धर्व) बिहे होइन, यो जबर्जस्ती बिहे हो । यसलाई शास्त्रले राक्षसी बिहे भन्छ क्यार ! अहिले बिहे गर्न लगाउने पछि फेरि नयाँ नयाँ अनुमतिपत्र वितरण गर्ने योजना पो हो कि बाउ बैंक राबैको ? यी बाउ बदमास छन्, लाइसेन्सबाट कमाउँछन् भनेर आरोप लागिराछ है ! कि बैंकहरू धेरै भए भनेर डेमोक्र्याटिक र रिपब्लिकन बैंक वा कांगे्रस र कम्युनिष्ट बैंक भनेर दुईओटा मात्र बैंक बनाउने लक्ष्य पो हो कि राबैको !

बैंकहरूबीच बिहे भयो भने नयाँ बच्चा जन्माउन पर्दैन अर्थात् नयाँ शाखा खोल्न पर्दैन रे । बैंकको व्यवस्थापकीय खर्चमा कमी भएर लगानी क्षमता माथि चढ्छ रे । पूँजी कोष बढ्छ, जोखिम घट्छ रे । जनशक्ति फालाफाल हुन्छ रे । बिहे गर्दा बाउ बैंकबाट थप सुविधा पाइन्छ रे । तरलता टन्न हुन्छ रे । अनि बैंक नाफै नाफामा जान्छ रे । खै खर्ब खर्बको हिसाब चाहिँ जानिन्न । तर अहिले बैंकको मुनाफा भने घटेको घट्यै छ । बैंकहरूको बिहे भएर जति ठूलो बने पनि शेयरधनीहरूलाई त हात्ती आयो हात्ती आयो फुस्सा ! मात्र त हुने हैन होला नि ? त्यस्तो नहोस् ।

अहिलेलाई भने नवविवाहित र बिहेका लागि तम्तयार सबै बैंक तथा वित्तीय संस्थाहरूलाई सफलताको एकमुष्ट शुभकामना !

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)