काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट चुक्तापूँजीको ७ दशमलव ६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरिएको छ । कम्पनीको २८औं वार्षिक साधारणसभाबाट २ दशमलव ४ प्रतिशत बोनस शेयर र ५ दशमलव २ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिएको हो । बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ९८ करोड १६ लाख पुग्नेछ । साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ ।
यसैगरी कम्पनीको शेयर संरचना हाल कायम रहेको संस्थापकतर्फको ५३ दशमलव ३२ प्रतिशत र सर्वसाधारणतर्फको ४६ दशमलव ६८ प्रतिशतलाई क्रमश: ५१ प्रतिशत र ४९ प्रतिशत कायम गर्ने प्रस्ताव समेत पारित गरिएको छ ।