काठमाडौं । धर्मेश्वर बचत तथा ऋण सहकारी संस्थाको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रवार काठमाडौंमा सम्पन्न सभाले संस्थाका अध्यक्ष मदन लम्सालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनहरू पारित गरेको छ ।
साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल सरकारका पूर्वसचिव एवं कृषिविज्ञ डा. योगेन्द्रकुमार कार्कीले कृषिउपजको बढ्दो आयात न्यूनीकरण गरी आत्मनिर्भर हुन यस क्षेत्रको व्यावसायिकीकरण, आधुनिकीकरण र यान्त्रिकीकरणको खाँचो रहेको बताए । नेपाल कृषिवस्तुमा आत्मनिर्भर हुन सक्ने ठूलो सम्भावना रहेको भन्दै उनले त्यसका लागि लगानी, शीप/तालीम, बजारीकरण लगायतमा सहकारी संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए ।
नेपालका सीमान्त कृषकहरूमा अझै पनि बैंक तथा वित्तीय संस्थाको पहुँच कमजोर रहेको पूर्वसचिव कार्कीले बताए । यो परिस्थितिमा सहकारी संस्थाको भूमिका अझ बढी हुने उनको भनाइ छ । साथै कृषिमा बैंकहरूबाट हुने ऋण लगानीको प्रणालीमा सुधारको आवश्यकता समेत उनले औंल्याए ।
यसैगरी नेपालीहरूमा आयातित एवं प्रशोधित खाद्यवस्तु खाने बानी बढ्दै गएकाले यसमा परिवर्तन ल्याउनुपर्ने उनले बताए । स्वास्थ्य र आत्मनिर्भरताका लागि पनि नेपालमै उत्पादन हुने रैथाने चामल लगायत खाद्यान्नको उपभोग गर्ने बानी बसाल्न उनले आग्रह गरे ।