ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘खेलकुद र पर्यटनलाई एकीकृत गर्नुपर्छ’

२०७९ माघ, २  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । खेलकुद र पर्यटनलाई एकीकृत गरेर विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । उद्योग वाणिज्य संघ चितवनको १४औं चितवन महोत्सवको अवसरमा नारायणगढमा आयोजित ‘खेल पर्यटनको गन्तव्य : चितवन’ विषयक पर्यटन गोष्ठीमा सहभागीहरूले खेलको माध्यमबाट पर्यटन क्षेत्रले फड्को मार्न सक्ने बताएका हुन् ।
चितवन पर्यटनका दृष्टिले प्रचुर सम्भावना रहेको क्षेत्र हुँदा पनि उचित लाभ लिन नसकिएको सरोकारवालाले बताएका छन् । कार्यक्रममा स्रोतव्यक्ति एवम् भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ डा. विश्वराज सुवेदीले विश्व अर्थतन्त्रको ठूलो हिस्सा पर्यटनले ओगटे पनि त्यसको लाभ नेपालले लिन नसकेकोे बताए । नेपालमा जल पर्यटन, पर्वतीय पर्यटन, हिमाली पर्यटन र वन तथा वन्यजन्तुलाई जोडेर पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्ने उनले बताए ।

अन्तरराष्ट्रिय खेलहरू खेलाउन सके चितवनमा मात्र वार्षिक एक लाख विदेशी पर्यटक भित्र्याउन सकिने सुवेदीको भनाइ थियो । कार्यक्रममा अमेरिकाका लागि नेपालका पर्यटन दूत विनोद अधिकारीले दुई ठूला राष्ट्रको बीचमा रहेको नेपालले पर्यटन क्षेत्रबाट प्रशस्त लाभ लिनुपर्ने बताए । चितवनमा ठूला नदी, पहाड, निकुञ्ज र दुर्लभ वन्यजन्तु रहेको भन्दै उनले यसको प्रचारसँगै नदी र पहाडमा खेलकुदका गतिविधि गर्नुपर्ने पनि बताए ।

चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष उत्तम गुरुङले चितवनमा खेल पूर्वाधारका काम नहुँदा पूर्वाधारका लागि आएको बजेट पनि रकमान्तर भएर जानु लज्जास्पद रहेको बताए । खेलकुदको विकासका लागि खेल सम्बद्ध संघसंस्था मात्रै नभएर निजी, सार्वजनिक तथा सरकारी संघसंस्थाहरूको सहयोग आवश्यक रहेको गुरुङको भनाइ थियो ।

त्यसैगरी गैरआवासीय नेपाली संघका प्रवक्ता एवम् बेलायतका लागि नेपालका पर्यटन प्रवर्द्धन दूत सोम सापकोटाले नेपालको पर्यटनलाई विश्वसामु कसरी पुर्‍याउन सकिन्छ भनेर आफूहरू लागिपरेको बताए । विश्वमा हुनेभन्दा फरक गतिविधिलाई समेटेर नेपालमा खेलकुदसँगै पर्यटक भित्र्याउन सकिने उनको भनाइ थियो ।

कार्यक्रममा नासा फाउण्डेशनका प्रमुख गोविन्द भट्टराईले मुलुकको विकासका लागि खेल पर्यटन पूर्वाधार पनि आवश्यक रहेको बताए । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले नारायणीमा बिच भलिबलसहित धेरै सम्भावना भएकाले त्यसका लागि सरकारले ध्यान दिनुपर्ने बताए । उद्योग वाणिज्य संघ चितवनका पर्यटन संयोजक अशोक अधिकारीले पर्यटन क्षेत्र चलायमान भए सबै क्षेत्र सहज रूपमा सञ्चालन हुने बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)