काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘मेरी उनीलाई स्वस्थ नारी’ अभियानअन्तर्गत नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले देशव्यापी रूपमा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको हो । सबै प्रदेश समेट्ने गरी सप्ताहव्यापी रूपमा अभियान सञ्चालन गरिएको बैंकले जानकारी दिएको छ । शिविरमा स्त्रीरोग विशेषज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवा दिएका छन् । बैंकका अनुसार शिविरमा महिलाहरूको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरण लगायत सेवा नि:शुल्क रूपमा उपलब्ध गराइएको हो ।
नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोग तथा सम्बन्धित स्थानीय तहको समन्वयमा कार्यक्रम गरिएको बैंकको भनाइ छ । बैंकले प्रदेश १ को इलाममा, मधेश प्रदेशको रौतहट, बागमती प्रदेशको दोलखा, गण्डकी प्रदेशको बागलुङ, लुम्बिनी प्रदेशको रोल्पा, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको डोटीमा स्वास्थ्य शिविर गरेको छ । शिविरबाट ८०९ जना महिलाले स्वास्थ्य सेवा लिएको बैंकको भनाइ छ ।