ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

छुट्टीतन्त्र !

२०७९ माघ, १३  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल

जसले जेसुकै भनोस्, नेपाल विश्वमै सबैभन्दा उदार देश हो । दलहरू र सरकारहरू अत्यन्त उदार छन् र उदारतन्त्रमा विश्वास गर्छन् । खासगरी दलपतिहरू सरकारमा पुग्नेबित्तिकै यति उदार हुन्छन् कि जसले जे माग्यो, उसलाई त्यो प्रदान गरिहाल्छन्, चाहे आश्वासन होस् वा सहायता होस्, चाहे चन्दा, पुरस्कार होस् वा छुट्टी ।

छुट्टीको विषयमा त सरकार यति उदार छ कि कतै छिस्रिक्क केही हुनेबित्तिकै सरकारले गर्ने पहिलो निर्णय भनेको छुट्टी अर्थात् सार्वजनिक बिदा घोषणा गरिहाल्ने हो । देश र जनताप्रति, जनताका व्यवसाय र वृत्तिप्रति सरकार संवेदनशील छ भन्ने कुरा सरकारले कति धेरै छुट्टी दिन सक्छ भन्नेमै निर्भर गर्छ । यो छुट्टी राजनीतिशास्त्र हो र अर्थशास्त्र पनि हो । त्यसैले त सरकार धेरै छुट्टी दिएर देशको अर्थतन्त्र बलियो बनाउन चाहन्छ । यो नेपालको मौलिक चिन्तन हो । यसमा नेपालको पेटेन्ट नै छ है ।

गणतन्त्र, लोकतन्त्रजस्तै अब जोकतन्त्र, ठोकतन्त्र, भोकतन्त्र जस्ता दिवस मनाउन छुट्टी दिन शुरू गर्नपर्छ । सरकारले हरेक औंशी, पूर्णिमा, संक्रान्ति, मसान्त, एकादशी, सूर्यग्रहण, चन्द्रग्रहण र सोह्रश्राद्धमा पनि छुट्टी दिनुपर्दछ । अझ अन्धक (शुक्र र बृहस्पति अस्त)मा त पूरै छुट्टी दिनुपर्छ ।

छुट्टी दिनेबित्तिकै देशको धेरै स्रोत र साधनको बचत हुन्छ । उदाहरणका लागि, मानिसहरू महीनौं वा वर्षौंदेखि अदालतमा आआफ्नो मुद्दाको पालो कुरिरहेका हुन्छन् । छुट्टी दिनेबित्तिकै त्यस दिनको मुद्दा फेरि कति समय पछि सर्छ, त्यो न्यायाधीशलाई समेत थाहा हुन्न । त्यसपछि मानिसहरूले मुद्दा हाल्नैै कम गर्दै जान्छन् । वास्तवमा यो मुद्दा–सुद्दा लड्ने काम राम्रो पनि त होइन नि, कसो ?

कत्ति मानिसहरू विदेश जान राहदानीका लागि लाइनमा हुन्छन् । बिदा हुनेबित्तिकै कतिको त विदेश पुग्नुपर्ने मिति गुज्रेका कारण भिसा नै रद्द हुन पुग्छ । यसले गर्दा विदेश जाने मानिसहरू स्वदेशमै बस्न बाध्य हुन्छन् । स्वदेशमा रोक्ने योभन्दा महान् अस्त्र के होला र ?

बिदा दिएपछि सरकारी अस्पतालहरूमा कत्ति बिरामीहरूको अप्रेसन नै रोकिन्छ । अप्रेसन गर्दा फ्याट्ट बिरामीलाई केही भयो भने ? त्योभन्दा त रोकेकै जाती नि ।

विनाअपरेशन सबै रोगको उपचार गर्ने पद्धति हाम्रा नेपालीहरूले विकास गरेका सन्देशहरू सामाजिक सञ्जालहरूमा आइरहेका छन्, मिडियाहरूमा विज्ञापन आइरहेकै छन्, भलै मै हुँ भनाउँदा आधुनिक नामका अस्पताल र डाक्टरहरूले भने विज्ञापन गर्नै नपाउने नियम छ क्यार । त्यसैले अचानक दिइने छुट्टीका धेरै पो फाइदाहरू छन् त ।

सरकारले फरक फरक जातिको ल्होसारमा ३ दिन फरक फरक छुट्टी दिन शुरू गरेको केही वर्ष मात्र भयो । पहिले सबै जातिलाई एउटै ल्होसार छुट्टी दिएर काम चलाउँथ्यो । गणतन्त्र आएपछिका सरकार उदार हुँदै गएका प्रमाण हुन् यी ।

वर्षको चार–पाँच पटक त नयाँ वर्षकै बिदा दिने भनेर गिनिज बुकमा नाम लेखाउन कम्मर कसेको छ सरकारले । नेपाल १०४ भन्दा बढी जातजाति बस्ने देश हो । अरू जातजातिहरूको चाडपर्वमा पनि यसैगरी बिदा दिन शुरू गर्नुपर्छ नि हौ । आखिर जनता खुसी भया, दरबार खुसी हुन्या न हो ।

हो, अहिलेको सरकारले गणतन्त्र आएपछि कटाएको पृथ्वी जयन्तीमा पनि छुट्टी दिन थाल्यो । तर अब अरू राष्ट्रिय विभूतिहरूका जन्म र मृत्यु दिवसमा छुट्टी दिन किन शुरू नगर्ने ? हो, सरकारले विमान दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति समवेदना प्रकट गर्न पनि छुट्टी दिन थाल्यो । यो गज्जप गर्‍यो । योबाहेक मृतकहरूपति हार्दिक श्रद्धाञ्जलि अरू के हुन सक्थ्यो र ?

तर अब सरकारले बस वा जीप दुर्घटनामा ज्यान गुमाउनेहरूको सम्झनामा पनि छुट्टी दिन शुरू गर्नैपर्छ । अनि न सरकारको सबै मृतकप्रति समान व्यवहार झल्किन्छ, समाजवादको लक्ष्य पूरा हुन्छ । जिउँदाहरूलाई त सरकारले के नै गरिरहन पर्छ र ? जिउँदाहरू त जे जे गर्नुपर्छ आफै गरिहाल्छन् नि !

नेपालका विभिन्न जातजातिले मनाउने सबै चाडपर्वमा सबैलाई दशैंमा जति नै कम्तीमा ७ दिन छुट्टी दिने व्यवस्था हुनुपर्दछ । किनकि विभिन्न अनुसन्धानले प्रमाणित गरेका छन्, धेरै छुट्टीले मानिसको उत्पादकत्व बढाउँछ ।

त्यस्तै गणतन्त्र, लोकतन्त्र, प्रजातन्त्रजस्ता थुप्रै तन्त्रहरूको बिदा पनि घटाएको छैन सरकारले । यो स्वागतयोग्य कुरा हो । गणतन्त्र, लोकतन्त्रजस्तै अब जोकतन्त्र, ठोकतन्त्र, भोकतन्त्र जस्ता दिवस मनाउन छुट्टी दिन शुरू गर्नपर्छ ।

शायद विकसित देशहरूको देखासिकी गरेर होला सरकारले शनिवार र आइतवार हप्तामा दुई दिन सरकारी छुट्टी दिन शुरू गरेको थियो । विदेशको जस्तै विकास गर्न त विदेशीहरूले जे जे गर्छन्, हामीले पनि त्यै त्यै गर्दै जानुपर्‍यो नि । तर कसको दबाब वा प्रभावमा आएर हो त्यो राम्रो चलन फेरि हटायो । त्यसलाई पुनःस्थापित गर्नुपर्छ ।

सरकारले हरेक औंशी, पूर्णिमा, संक्रान्ति, मसान्त, एकादशी, सूर्यग्रहण, चन्द्रग्रहण र सोह्रश्राद्धमा पनि छुट्टी दिनुपर्दछ । अझ अन्धक (शुक्र र बृहस्पति अस्त)मा त पूरै छुट्टी दिनुपर्छ । अरू धर्मकाले पनि जति दिन भन्छन्, स्वाट्ट त्यति दिन बिदा दिइनुपर्दछ । त्यस्तै, हरेक दलका नेताका जन्म दिन र मरण दिन उनका घरमा जन्मेका बालबच्चाका छैठी, न्वारन, व्रतबन्ध, विवाह, इन्गेजमेण्टका दिन, हरेक राजनीतिक दलको ‘चियापान’ दिवस, शहीद दिवसमा नयाँ शहीद, पुराना शहीद, जिउँदा शहीद आदि छुट्ट्याएर छुट्टाछुट्टै बिदा दिन शुरू गर्न सकिन्छ । कसैको डिभोर्स भयो भने त्यो दिन पनि छुट्टी दिइनुपर्दछ । कुनै गाउँ टोलमा कसैको जन्त भयो भने गाउँ टोलभरि नै छुट्टी दिनुपर्दछ  । महिला दिवस (शहरिया), महिला दिवस (गाउँले) वा महिला दिवस तराई र पहाड भनेर छुट्ट्याए पनि दिन सकिन्छ । बुबाको मुख हेर्ने दिनजस्तै श्रीमतीको मुख हेर्ने दिन, छोराछोरीको मुख हेर्ने दिन, हाकिमको मुख हेर्ने दिवस, नेताको मुख हुने दिन, गोरा पर्व, काला पर्व, सालासाली पर्व, बाल याने कपाल दिवस (कपाल काट्नका लागि) आदि जस्ता नयाँ नयाँ सृजनात्मक बिदाहरू दिन शुरू गर्न सकिन्छ । कृषिप्रधान देश भएकाले हरेक हप्ता एक एक बालीनालीको नाममा फलानो बाली दिवस भन्दै छुट्टी दिइनुपर्दछ । हिमालमा हिउँ छुट्टी, पहाडमा पानी छुट्टी, तराईमा गर्मी छुट्टी दिइनुपर्दछ ।  

छिमेकीका राष्ट्रपति देशमा आउँदा सम्मानमा एक दिन छुट्टी दिने चलन पनि चलाएका छन् क्यारे पछिल्ला सरकारहरूले । अब उप्रान्त छिमेकीका मन्त्री, सन्त्री आउँदा जाँदा पनि छुट्टी दिन शुरू गर्नुपर्छ । अनि न उनीहरूबाट केही झर्न सक्छ ।

छुट्टीतन्त्रका अनेक फाइदा छन् । राष्ट्रिय खेल म्यारिजको प्रवर्द्धन हुन्छ । बिदा भएपछि दारुपानीको व्यवसाय पनि ह्वात्तै बढ्छ । अझ छुट्टी भएपछि सरकारी कार्यालयमा हुने भ्रष्टाचार त्यो दिन शून्य हुन पुग्छ । अझ अर्को कुरा धेरै सरकारी कर्मचारी बिदाका दिन जग्गा किनबेचको अतिरिक्त काममा लाग्न पाउँछन् । रियल इस्टेट व्यवसायमा बुम बुम गराउनु पनि अर्थतन्त्र उकास्नु हो नि !
 
त्यसैले सरकारको ह्याउ छ भने अब चाडपर्वहरूको बिदा बढाएर ३६५ दिन नै सार्वजनिक छुट्टी दिने व्यवस्था गरोस् । अब भन्नुहोला ३६५ छुट्टी दिएर काम कहिले गर्ने त ? काम त नेपालीले विदेशमा गएर गर्ने हो नि । रेमिट्यान्स पठाउन क्या । नेपालमा त छुट्टी मनाउने हो छुट्टी ।   अनिमात्र सरकारलाई पूर्ण उदार छ भनेर मान्न सकिन्छ । किनकि आखिर जति नै काम गरे पनि हाम्रो देशको निर्यात जम्मा २ खर्बको छ, आयात भने २० खर्बको छ । भनेसि काम गरेर के फाइदा भो त ? बरु छुट्टी गर्‍यो बस्यो, खायो पियो, मोज गर्‍यो, कसो ? बरु आउनोस्, सबै मिलेर यो छुट्टीतन्त्रको प्रवर्द्धनमा लागौं ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)