काठमाडौं । नेपालमा अहिले पनि कठ्याङ्ग्रीदो चिसो छ । हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको छ । तर दक्षिण अमेरिकी मुलुक चिलीमा भने अत्यधिक गर्मीका कारण भएको आगलागीबाट १३ जनाको मृत्यु भएको छ ।
अहिले त्या हाँको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस पुगेको र आगामी दिन झनै डरलाग्दा हुने त्यहाँको मौसम विभागले चेतावनी दिएको छ ।
गर्मीका कारण चिलीको करीब १४ हजार हेक्टर क्षेत्रफलमामा आगो फैलिएको छ । राजधानी सान्टियागोबाट करीब ५०० किलोमिटर टाढा रहेको सान्ता जुआना शहरमा अग्नि नियन्त्रकसहित ११ जनाको मृत्यु भएको छ ।
चिलीको कृषि मन्त्रालयका अनुसार आपतकालीन सहयोगका लागि आएको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा एक पाइलट र एक मेकानिकको पनि मृत्यु भएको समाचार संस्था एएफपीले बताएको छ ।
आगो निभाउन थप सेना परिचालन गरिएको छ । देशभर आगलागीका ३९ घटना भएको र सयौं घरमा क्षति पुगेको गृहमन्त्री क्यारोलिना तोहाले जानकारी दिएकी छिन् ।
बढ्दो आगलागी नियन्त्रण गर्न अर्जेन्टिना र ब्राजिलका ६३ ओटा विमान आगो निभाउने प्रयासमा छन् । राष्ट्रपति गाब्रिएल बोरिकले शुक्रवार आफ्नो बिदा घटाएर आगलागी भएको क्षेत्रमा भ्रमण गरेका छन् ।
बोरिकले आपतकालमा मानिसहरूलाई कम से कम समस्या होस् भनेर सबै स्रोतहरू उपलब्ध गराउनु राष्ट्रपतिको रूपमा आफ्नो पहिलो दायित्व रहने पनि बताएका छन् ।
आगलागीका कारण राजमार्गमा समेत क्षति पुगेको छ, जसका कारण यात्रुलाई आवतजावतमा निकै समस्या भएको छ । यस अवधिमा धेरै बस्तीहरू खाली गरिएको छ । -एजेन्सीहरूको सहयोगमा