माघ २१ गते शनिवार काठमाडौंको भृकुटीमण्डपमा ‘डग शो २०२३’ आयोजना गरिएको थियो । कुकुर पारखीहरुलाई लक्षित गर्दै एब्स्ट्र्याक्ट पेट्सको आयोजनामा भएको 'डग शो'मा १५ महीनाको एडम नामको जर्मन सेफर्ड कुकुरले बेस्ट अफ द बेस्ट जितेर २० हजार नगद तथा अन्य उपहारहरू प्राप्त गर्यो ।
एब्स्ट्रयाक्ट पेट्सको अध्यक्ष पारस कपालीका अनुसार उक्त शोमा २८ ब्रीड (जाति) का १६२ कुकुरहरुले विभिन्न विधामा भाग लिएका थिए । पपी क्लास, ब्रीड शो र ग्रुप शो गरि ३ विधामा शो गरिएकोमा विजेतालाई ट्रफी,मेडल र गिफ्ट ह्याम्परहरू प्रदान गरिएको थियो । कुकुरको ब्रिडअनुसार स्ट्याण्डर्ड छुट्याउन भारतबाट निर्णायकका रूपमा गुरविन्दर पाल सिंह चीमा आएका थिए ।
कुकुर शौखिनहरुको बाक्लो उपस्थिति रहेको उक्त शोमा प्रतिकुकुर १ हजार पाँच सय रुपैयाँ दर्ता शुल्क तथा र शो अवलोकनका लागि प्रतिव्यक्ति प्रवेश शुल्क २५० रुपैयाँ तोकिएको थियो । फ्रेन्च बुल डग कुकुरहरुको प्रदर्शनी तथा कुकुर विशेष खाना, स्वस्थ्य लगायतका विभिन्न स्टलहरू रहेका थिए ।
स्मार्टहर्ट मुख्य प्रायोजक रहेको डग शोको अन्य प्रायोजकको रुपमा ड्रोल्स डग फुड, रिफ्लेक्स, हिमालय हर्बल, मेडीलोजी बायोटेक, फल्फी पव्ज लगायत रहेका थिए ।
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान