ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अघि बढ्न सकेन देवघाटमा त्रिकोणात्मक पुलको काम

२०७९ माघ, २३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । धार्मिक एवं पर्यटकीय क्षेत्र देवघाटमा तीन जिल्ला जोड्नेगरी निर्माण गर्ने भनिएको त्रिकोणात्मक पुलको काम अझै अघि बढ्न सकेको छैन । तनहुँ, नवलपुर र चितवनलाई जोड्नेगरी बनाइने त्रिकोणात्मक पुलको काम हालसम्म विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा मात्र सीमित छ ।

देवघाट क्षेत्र विकास समितिले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित तीन जिल्ला जोड्नेगरी २०७३ सालमा त्रिकोणात्मक पुल निर्माण गर्ने निर्णय गरेको थियो । तर बजेट अभावले योजनाको काम शुरू हुन नसकेको हो ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले उक्त पुल निर्माणमा बजेट नै नपरेको बताए । पुलको निर्माण लागत ८२ करोड रुपैयाँ रहने बताइएको छ ।

यसअघि संघीय सरकारले त्रिकोणात्मक पुल निर्माणका लागि २० लाख रुपैयाँ बजेट दिएको थियो । ‘२० लाख बजेटले के गर्न सकिन्छ र ? ८२ करोडको योजना छ, कुनै काम अघि नबढेपछि रकम फ्रिज भएर गयो,’ अधिकारीले भने ।

सरकारले पहिलो चरणमा १० करोड बजेट पारे पुलको शिलान्यास गरेर काम शुरू गर्न सकिने उनले बताए । ‘पुलको डिजाइन भइसकेको छ, डीपीआर पूरा भएको छ तर बजेट अभावले काम अघि बढेको छैन,’ उनले भने ।

चितवन र तनहुँ जोड्नेगरी त्रिशूलीमाथि रहेको अहिलेको झोलुंगे पुल जीर्ण हुँदै गएको छ । देवघाट क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न पनि त्रिकोणात्मक पुल आवश्यक रहेको अधिकारीको भनाइ छ ।

देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टंकनाथ पौडेलले योजना परे पनि बजेट नपर्दा पुल निर्माण अलपत्र परेको बताए । ‘२०७३ सालमै पुल निर्माण प्रक्रिया अघि बढाइएको हो । तर यसमा न सरकारले चासो देखायो, न त प्राथमिकतामै पर्‍यो,’ उनले भने ।

पूर्वअध्यक्ष पौडेल हाल त्रिकोणात्मक पुल कार्यान्वयन उपसमितिको संयोजक समेत हुन् । संघीय सरकारले बजेट विनियोजन नगरी निर्माण सम्पन्न हुन नसक्ने उनले बताए । देवघाटमा त्रिकोणात्मक पुल निर्माण भए धार्मिक पर्यटन प्रर्वद्धन तथा स्थानीयको आयआर्जन समेत बढ्ने उनको भनाइ छ । अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेमा आउँदो आर्थिक वर्षको शुरूमैै बोलपत्र आह्वान गर्न सकिने देवघाट क्षेत्र विकास समितिले बताएको छ ।

डिजाइन अनुसार पुलको बीचको पिलरबाट तीनैतर्फको लम्बाइ समान १९० मिटर छ । चितवनतर्फ बीचमा ठूलो एउटा पिलर रहन्छ । पुल २ दशमलव ४ मिटर फराकिलो हुन्छ । पुलमा आकर्षक र उच्चस्तरीय स्टीलको प्रयोग हुने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)