ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ललितपुरको ठेचोको स्ट्रबेरी फार्म, जहाँ पाइन्छ अर्गानिक स्ट्रबेरी अनि शान्त वातावरणको आनन्द

२०७९ माघ, २९  
विविध फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । गत शनिबार ललितपुरको ठेचोस्थित एग्रो स्टुडियोमा रहेको स्ट्रबेरी फार्ममा परिवारसहित पुगेकी थिइन् काठमाडौंकी अर्चना श्रेष्ठ । स्ट्रबेरी किन्न त्यहाँ पुगेकी उनी आफै स्ट्रबेरी टिप्दै थिइन् । 

अर्गानिक र ताजा स्ट्रबेरी पाइने सुनेर आफूहरू त्यहाँ पुगेको उनले सुनाइन् । सो फार्ममा स्ट्रबेरी प्रतिकेजी १ हजार २०० रुपैयाँमा पाइने गरेको छ । बजारमा भने प्रतिकेजी ५०० देखि ८०० रुपैयाँमा स्ट्रबेरी किन्न सकिन्छ । 

‘बजारको तुलनामा यहाँ महँगो त छ । तर, यहाँ अर्गानिक र ताजा पाइन्छ,’ स्ट्रबेरीको मूल्यबारे उनले भनिन् । 

श्रेष्ठको परिवार मात्रै होइन, काठमाडौंकै राजन धमलाको परिवार पनि शनिबार फार्ममै देखिन्थ्यो । उनको परिवारका केही सदस्य पनि स्ट्रबेरी टिप्दै गरेका देखिन्थे । शान्त वातावरणमा परिवारसँग केही क्षण बिताउन आएको धमलाले बताए ।  

यी त प्रतिनिधि पात्र मात्रै हुन्, अहिले त्यहाँ स्ट्रबेरी किन्न आउनेहरू बढेका छन् । फार्मका कार्यकारी सञ्चालक तथा कृषक अन्वेष केसी स्ट्रबेरी किन्न आउनेहरू फार्ममै पुग्ने गरेको बताउँछन् । यहाँ स्ट्रबेरी आफै टिपेर किन्न पाइन्छ । 

यो ठाउँ संघीय राजधानी काठमाडौंबाट करिब १५ किमीको दूरीमा छ । शान्त वातावरणमा परिवार तथा साथीभाइहरूसँग रमाउन पनि यो ठाउँ उपयुक्त छ । 

करिब ६० रोपनी जग्गामा फैलिएको उक्त फार्ममा स्ट्रबेरी खेतीसँगै बाख्रापालन, माछापालन, टर्कीपालन आदि पनि गरिएको छ । यससँगै कुरिलो, सागसब्जीलगायत खेती पनि गरिएको फार्म सञ्चालक केसी बताउँछन् । करिब ९ महीनाअघि सञ्चालनमा आएको उक्त फार्म कृषिको अध्ययन, अनुसन्धान गर्न पनि महत्वपूर्ण भूमिका खेलेको  उनको भनाइ छ । 

स्ट्रबेरी खेती भदौदेखि चैत महिनासम्म हुने गरेको छ । 

उक्त फार्ममा प्रवेश शुल्क ३०० रुपैयाँ तोकिएको छ । स्थानीयका लागि आइतवारदेखि शुक्रवारसम्म १०० रुपैयाँ प्रवेश शुल्क लाग्ने गरेको छ । तर, ५ जनाले ५००० रुपैयाँ बराबर स्ट्रबेरी खरिद गर्दा प्रवेश निःशुल्क छ ।

तस्विरहरु : सुनिल शर्मा /आर्थिक अभियान

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)